नेपाल चिकित्सक सङ्घको महासचिवमा डा. रिजालको उम्मेद्वारी


३ मंसिर २०७६, मंगलवार
doctor

काठमाडौं, ३ मंसिर । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा. बद्री रिजालले उम्मेदवारी दिने भएका छन् ।

आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको सोमबार बसेको बैठकले उनलाई सो पदमा उठाउने निर्णय गरेको हो ।

यसअघि सङ्घको अध्यक्ष पदमा डा. लोचन कार्कीलाई उठाउने निर्णय भएको थियो । डा. कार्की सङ्घको महासचिव हुन् । सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्व अध्यक्षहरु डा. केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुसालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्षसहित रिजाललाई महासचिव पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

यसैगरी दुई वटा उपाध्यक्ष पदमा डा. शिवकुमार श्रेष्ठ र डा. अनिलविक्रम कार्की, सहसचिव पदमा चिकित्सक प्रकाश बुढाथोकी, कोषाध्यक्ष पदमा चिकित्सक शिवजी पौडेल र सहकोषाध्यक्ष पदमा डा. विश्वराज दवाडीलाई उठाउने निर्णय भएको छ । बाँकी कार्यसमितिको सदस्य पदको टुङ्गो छिट्टै लगाइने लोकतान्त्रिक चिकित्सक सङ्घले जनाएको छ ।

यसअघि डा पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । विसं २००७ फागुन २० गते नेपाल डा. सङ्घको स्थापना भएको थियो । स्थापना समयदेखि हालसम्म सङ्घको नेतृत्व प्रजातान्त्रिक चिकित्सकले गर्दै आएका छन् ।

यसैबीच सङ्घले आज सूचना जारी गरी केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत मंसिर १४ गते शनिबारसम्म सङ्घको आजीवन सदस्य बन्नुपर्ने, मतदाताको नामावली मंसिर २३ गते सोमबार प्रकाशित हुने, उम्मेदवारको मनोनयन दर्ता मंसिर २७ र २८ गते १ बजेसम्म हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर ३० गते सोमबार हुने जनाइएको छ ।

सङ्घको १६ वटा शाखा कार्यालयमा माघ ४ गते शनिबार र ५ गते आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म र केन्द्रीय कार्यालयमा माघ १७ गतेदेखि २१ गते मङ्गलबारसम्म सोही समयमा गोप्य मतदान हुने सूचनामा जनाइएको छ ।

मत गणना माघ २२ गते बुधबार ११ बजेपछि हुनेछ । सङ्घको प्रमुख निर्वाचन अधिकृतमा डा. बाबुराम मरासिनी र निर्वाचन अधिकृतमा डा. नवीन्द्रराज विष्ट र डा. योविनकुमार यादव रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७