सागमा बिच भलिबल : पर्याप्त अभ्यास बिनै स्वर्ण पदकको आश !


१० मंसिर २०७६, मंगलवार
rangashalakhelmaidan 1

काठमाडौं, १० मंसिर । यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एशियाली खेलकूद (साग) मा बिच भलिबल खेल पहिलो पटक समावेश गरिएको छ ।

पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहने छ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई काँस्यका लागि भूटान बाहेकका छ देशले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर १९ देखि शुरु हुँदैछ ।

प्रतियोगिताको तयारीका लागि पुरुष तथा महिला नेपाली राष्ट्रिय टोली गएको असार १५ देखि प्रशिक्षणमा रहेको छ । गत असार ५ देखि ९ गतेसम्म पोखरामा छैटौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गरेर सागका लागि खेलाडी छनोट गरिएको थियो ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाल पदक जित्नेमा दृढ देखिएको छ । सहभागी देशमध्ये श्रीलङ्का, माल्दिभ्स र भारतलाई पदकको सबैभन्दा बढी दावेदार मानिए पनि घरेलु मैदान र दर्शकको फाइदा लिँदै पहिलोपटक समावेश खेलमा स्वर्ण जितेर इतिहास रच्ने नेपालको लक्ष्य छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा १० दिनको बन्द प्रशिक्षण गरेको थियो । त्यसक्रममा त्यहाँको राष्ट्रिय टोलीसँगको चार मैत्रीपूर्ण खेलमा नेपाली टोलीले एकमा जित निकालेको थियो । नेपाली टोलीका प्रशिक्षक सुदेश रिमालले होम ग्राउन्डको फाइदा उठाउँदै स्वर्ण जित्ने गरी तयारी भइरहेको बताए ।

आफ्नै देशमा भएको प्रतियोगिताले खेलाडीको मनोवल बढे पनि प्रतियोगितास्थलमा अभ्यास गर्न नपाइएको बताउँदै उनले भने, ‘होम ग्राउन्ड र दर्शककोे हामीलाई फाइदा छ तर हामीले आफ्नै मैदानमा अभ्यास गर्न पाएका छैनौं । एक दुई दिन भए पनि अभ्यास गर्न पाइन्छ कि ?’

आफूहरुलाई अहिले पनि खेल्ने मैदानको नै समस्या रहेको प्रशिक्षक रिमालले उल्लेख गरे । नेपाली टोलीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार तथा सञ्जय शाह र राजु विकको जोडी रहेको छ ।
महिला टोलीका प्रशिक्षक कौशिल्ला कार्की पनि खेलाडीका लागि अभ्यासस्थल तयार नभएकोमा चिन्तित छन् । एक–दुई दिनमा मैदान तयार हुने जानकारी पाएको बताउँदै उनले बाँकी समयमा प्रतियोगितास्थलमा अभ्यास गरेर आफू अनूकूलको नतिजा निकाल्नेमा उनी दृढ छन् ।

ओलम्पिकमा सहभागिता जनाइसकेको श्रीलङ्का बलियो टोली रहेको बताउँदै प्रशिक्षक खत्रीले भने, ‘श्रीलङ्कामा अभ्यास गरेर उनीको सवल र दुर्वल पक्ष थाहा पाएका छौं र प्रतियोगिताका लागि सोहीअनुसार रणनीति बनाउँछौं ।’

महिला टोलीले श्रीलङ्कामा अभ्यास गर्दा राष्ट्रिय टिमसँगको एक मैत्रीपूर्ण खेल गुमाएको थियो । कोपिला उप्रेती र मनिषा चौधरी तथा विनिता बुढाथोकी र नेविका चौधरीको महिला टोली रहेको छ ।

नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले बिच भलिबलका लागि मैदानमा बालुवा राख्न मात्र बाँकी रहेकाले एक–दुई दिनमा अभ्यासका लागि खेलाडीलाई उपलब्ध गराइने बताए ।
तोकिएको मितिभन्दा ढिलाइ भएको स्वीकार गर्दै उनले नेपाली टोलीले अभ्यासका लागि एक साता समय पाउने उल्लेख गरे ।

बिच भलिबलका लागि आयोजक नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशबाट पुरुष र महिलाको दुई–दुई टोली गरी एक देशबाट आठ जनाको दरले खेलाडी सहभागी हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७