पुरानो पैसा हत्याउन खुर्पा र बियरको बोत्तलले हानेर दम्पतीको हत्या


१७ पुष २०७६, बिहीबार
hatya

काभ्रेपलाञ्चोक, १७ पुस । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैंसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए ।

वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए ।

प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ ।

उनका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्तरूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौंबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी मादक पदार्थ सेवन गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राती खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेर पुरानो पैसा लुटेर फरार भएको पत्ता लागेको थियो ।

अभियुक्तको साथबाट लुटेर लगेको पुरानो पैसासहित अन्य सामग्री समेत बरामद गरिएको जनाइएको छ । अभियुक्तलाई बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरी प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७