कोरोनाबाट ज्यान गुमाउने १८ हजार ८८७ पुगे, इटालीमा २४ घण्टामै ७४३ को गयो ज्यान

विश्वका चार लाख २२ हजार ६१३ जना कोरोना संक्रमित, अधिकांश देश ‘लकडाउन’ मा


१२ चैत्र २०७६, बुधबार
korona vi 1

काठमाडौं, १२ चैत । विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८८७ पुगेको छ ।

आज (बुधबार) विहान ८ बजेसम्मको तथ्याङ्क अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट दुई हजार ३७३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसका कारण इटालीमा ज्यान गुमाउनेको संख्या अत्यासलाग्दो गरेर बढिरहेको छ । गएको २४ घण्टामा इटालीमा कोरोनाबाट सबैभन्दा बढी ७४३ जनाको ज्यान गएको छ ।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८२० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलले जनाएका छन् । त्यहाँ ६९ हजार १७६ जना संक्रमितको उपचार भइरहेको छ ।

अहिलेसम्म विश्वका १९७ देशमा कोरोना संक्रमण फैलिइसकेको छ । विश्वका चार लाख २२ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक लाख आठ हजार ८७९ जना भने उपचार पछि निको भएका छन् ।

गएको २४ घण्टामा स्पेनमा ६८०, अमेरिकामा २२२, स्पेनमा ६८०, इरानमा १२२, जर्मनीमा ३६, फ्रान्समा २४०, युकेमा ८७, नेदरल्याण्डमा ६३, स्वीटजरल्याण्डमा २, दक्षिण कोरियामा ९, अस्टे«लियामा ७, बेल्जियममा ३४, क्यानाडामा २, पोर्चुगलमा १०, अस्ट्रेलियामा १, स्वीडेनमा १३, ब्राजिलमा १२, इजराइलमा २, टर्कीमा ७, मलेसियामा २ जनाले ज्यान गुमाएका छन् ।

यस्तै डेनमार्कमा ८, क्रेचियामा २, आइरल्याण्डमा १, जापानमा १, इक्वेडरमा ९, पाकिस्तानमा १, पोल्याण्डमा २, थाइल्याण्डमा ३, रोमानियामा ५, साउदी अरेवियामा १, ग्रिसमा ३, डायमण्ड प्रिन्सेसमा २, इन्डोनेसियामा ६, आइसल्याण्डमा १, फिलिपिन्समा २, स्लोभानियामा १, पेरुमा २ जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन् ।

त्यस्तै इजिप्टमा १, बहराइनमा १, अर्जे्न्टिनामा २, मेक्सिकोमा १, इराकमा ४, अल्जेरियामा २, लिथुआनियामा १, सान मारिनोमा १, हंगेरीमा १, मोरक्कोमा १, बोस्निया हर्ज गोभिनामा २, क्यप्रुसमा २, अल्बानियामा १, ट्युनिसियामा १, बंगलादेशमा १, साइप्रसमा २, काबो वर्डेमा १ र पाराग्वेमा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको उद्गम थलो चीनमा भने गएको २४ घण्टामा यसको संक्रमणबाट एक जनाले पनि ज्यान गुमाएनन् ।

कोरोनाले विश्वका प्रायः सबै देशमा ‘लकडाउन’, चीन सामान्य बन्दै
कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलन नदिन अहिले विश्वका धेरैजसो देशले आफूलाई ‘लकडाउन’ गर्न थालेका छन् ।

नेपालसँगै धेरै सीमा जोडिएको भारतमा पनि ‘लकडाउन’ शुरु भएको छ । गए राति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरिसकेका छन् ।

उनले गए राति देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने घोषणा गरेका हुन् । कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नका लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने ४९१ जना संक्रमित भएका छन् । बेलायत पनि अहिले लकडाउनमा छ ।

यसैबीच दक्षिण अफ्रिका सरकारले पनि २१ दिने ‘लकडाउन’ घोषणा गरेको छ । यस्तै अस्ट्रेलियाले १० जना मात्र मलामी जान र विवाह समारोहमा पाँच जना मात्र सहभागी हुन निर्देशन दिएको छ । यस्तै अरु देशमा ‘लकडाउन’ शुरु भइरहेको बेला चीनको वुहानमा भएको ‘लकडाउन’ भने आजदेखि आउँदो २६ गतेसम्मका लागि आंंशिक रुपमा खुलाउने तयारी छ ।

के छ नेपालमा अहिलेसम्म कोरोनाको अवस्था ?
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण चिन्ता लिनु पर्ने अवस्थामा छैन । गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना संक्रमित निको भइसकेका छन् भने अहिले एक जनाको काठमाडौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीसँग जहाजमा आएका १२५ जना पनि प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७