भिडियो : लकडाउन ३९ औँ दिन नेपाल
काठमाडौं, १९ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ । सरकारले चैत ११ गते देखि जारी लकडाउन ३९ औँ पुगेकाे हो ।
सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् । सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ ।
सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ ।
सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् ।
सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।
यस्तै नेपालमा आज ९शुक्रबार० थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुष्टि भएकामध्ये एक जना रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।
यस्तै नेपालसँग खुल्ला सिमाना रहेको भारतमा संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ । भने कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घण्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।