बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक शुरु
काठमाडौं, २६ भदौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शुरु भएको छ ।
स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन् ।
बैठकअघि आजै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो । पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट शुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन ।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वयले सुझाब कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझाबका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समाधानको दिशामा गएको हो ।
अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ । आजको स्थायी कमिटी वैठकले नेकपाभित्र लामो समयदेखि विवाद समाधान हुने अपेक्षा गरिएको छ ।