लिमीका बासिन्दालाई सहुलियत मूल्यमै चामल

नागरिकलाई सहुलियत मूल्यमै चामल बिक्री गर्न गाउँपालिकाले तीन सय क्विन्टलको साढे तीन लाख तिर्‍यो भाडा


१ कार्तिक २०७७, शनिबार
humala chamal

हुम्ला, १ कार्तिक । चीनले सात महिनादेखि नाका नखोल्दा खाद्यसंकट भोगिरहेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाले सहुलियत मूल्यमै गाउँमा चामल पाउने भएका छन् ।

गाउँपालिकाले ढुवानी भाडा तिरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले बिक्री गरेकै मूल्यमा लिमीवासीले चामल खरिद गर्न पाउने भएका हुन् ।

सीमानाका बन्द हुँदा तिब्बतसँग जोडिएको लिमी उपत्यकाका तीन गाउँ तिल, जाङ र हल्जीमा खाद्य संकट भएको थियो । खाद्यान्न माग गर्दै जनप्रतिनिधिसहित स्थानीय बासिन्दा चार दिन लगाएर सिमकोट आएका थिए ।

यससम्बन्धी नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निर्देशन दिएको थियो । जसअनुसार कम्पनीको सिमकोट शाखाले लिमीका लागि तीन सय क्विन्टल चामल उपलब्ध गराएको थियो ।

खाद्य कम्पनीले सिमकोटमा प्रतिक्विन्टल एक हजार नौ सय ५० रुपैयाँका दरले चामल उपलब्ध गराएको थियो । त्यसपछि गाउँपालिकाले सदरमुकाम सिमकोटबाट सय किलोमिटर उत्तरमा रहेको नाम्खा गाउँपालिका– ६ हल्जीसम्म ढुवानी गराएको थियो । सदरमुकामबाट तीन लाख ५५ हजार भाडा तिरेर तीन सय क्विन्टल चामल ढुवानी गरिएको नाम्खा– ६ का वडासदस्य कोजुक आवेजंग तामाङले बताए ।

ढुवानी महँगो परे पनि संकटका वेला स्थानीय बासिन्दाका लागि चामल पुर्‍याउँदा खुसी लागेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘तिब्बतको हिल्साबाट ल्याउँदा सस्तो पथ्र्यो, सिमकोटबाट ढुवानी गर्दा महँगो पर्‍यो,’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा भोकमरी हुनुभन्दा त महँगो पनि ठीक छ भन्ने सोचेर ढुवानी गर्‍यौँ ।’ अब सिमकोटमा खाद्य कम्पनीबाट खरिद गरेकै मूल्यमा लिमीवासीलाई बिक्री गरिने उनले बताए । सबै नागरिकलाई पुग्ने गरी बिक्री गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

स्थानीय उत्पादनले लिमीका बासिन्दालाई तीन महिना मात्रै खान पुग्छ । उनीहरूले तिब्बतको हिल्साबाट दैनिक उपभोग्य सामान आपूर्ति गर्दै आएका थिए । यसपटक कोरोनाका कारण सात महिनादेखि उत्तरी नाका बन्द छ । जसले गर्दा लिमीमा खाद्यान्न अभाव भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७