कोरोनाबाट गण्डकी र प्रदेश–१ मा तीन महिलासहित थप आठको निधन


९ कार्तिक २०७७, आईतवार
bp kovid

सुनसरी, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेश र प्रदेश–१ मा तीन महिलासहित थप आठ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट प्रदेश–१ को सुनसरीमा थप चार जनाको ज्यान गएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोभिड–१९ संयोजक दीक्षा श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित छन् । चारै जनाको शनिबार मृत्यु भएको उनले जानकारी दिइन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान–१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो ।

यसै गरी धरान–१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको धरान उपहानगरपालिकाका प्रमुख तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो ।

धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणबाटै धरान–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको विस्तृत विवरण आउन बाँकी रहेको मेहताले जानकारी दिए ।

कोरोना संक्रमणबाटै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकाका प्रेस सल्लाहकार नवराज विष्टका अनुसार क्षयरोग, दम र एचआईभीका दीर्घरोगी रहेका उनलाई चतरास्थित आइसोलेसन सेन्टरमा राखिएका थिए ।

कोरोनाबाट गण्डकी प्रदेशमा थप चारको निधन, गण्डकीमा मृत्तक संख्या ६३ पुग्यो
यता कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको ज्यान गएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न तीन अस्पतालमा गरी चार जना सङ्क्रमितको ज्यान गएको हो ।

पोखरा महानगरपालिका २२ का ६८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि कोभिड–१९ का कारण ज्यान गएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको हो । त्यस्तै त्यही अस्पतालमा उपचारत पोखरा १५ का ५२ वर्षीया महिलाको पनि ज्यान गएको छ ।

यसैगरी, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । पोखरा–१ का ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ जना पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७