नेकपा फुट्दैन तर ‘यथास्थिति’ मै रहे नफुटे पनि सिधिन्छ : मुख्यमन्त्री शाही

‘पार्टी जोगाउन मुख्यमन्त्री छोड्न तयार छु’


६ मंसिर २०७७, शनिबार
Mahendra bahadur sahi scaled

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । ८ वैशाख २०७७ मा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकाएक दुई अध्यादेश ल्याएपछि सुरु भएको विवाद अहिले उत्कर्षमा छ । ८ वैशाखमा सुरु भएको विवाद २८ कात्तिकमा बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावसम्म आइपुग्दा उत्कर्षमा पुगेको हो ।

यसबीचमा नेकपाभित्रको विवाद केही मत्थर भएको थियो । यहीबिचमा (२५ असोज २०७७ )मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री ओली निकट मानिएका नेता यामलाल कँडेलको अगुवाइमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि नेकपाभित्रको विवाद थप बझिल्यो ।

कर्णालीको विवादको बिषयमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले अलग-अलग पत्र पठाए । पछिल्लो विवादका उत्पतिका कारण मध्ये एक बन्यो, कर्णाली प्रदेश । यही विवादका केन्द्रीय पात्र मुख्यमन्त्री शाही अहिले काठमाडौं दौडधुपमै छन् ।

‘कर्णालीको कारण सुरु भएको नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको अवस्थामा पुगेको हो ?’ ‘कर्णाली विवादको कारण होइन पार्टी एकता गर्दा गरिएका सम्झौता र प्रतिबद्धता कर्णालीमा भंग गर्दा समस्या भएको हो,’ नयाँ पेजसँगको संवादमा मुख्यमन्त्री शाहीले भने, ‘एकता बिरोधीहरुले कर्णालीमा ‘एक्सन सुरु गरेका हुन् ।’

‘नेकपा फुट्दैन तर ‘यथास्थिति’ मै रहे नफुटे पनि सिधिन्छ’

Mahendra bahadur sahi cheif minister karnali province


मुख्यमन्त्री शाही शनिबार बिहानै पार्टीका नेताहरु बैठकमा सहभागी भएर आएका थिए । उनी पार्टी नफुट्नेमा ढुक्क थिए । बैठकपछि हामीसँगको संवादमा उनले भने, ‘मेरो ब्रम्हले भन्छ, पार्टी फुट्दैन तर जिम्मेवारी भने हेरफेर हुन्छ । पार्टी र सरकार दुबैमा जिम्मेवारी हेरफेर हुन्छ ।’

तर ‘यथास्थिति’मै नेकपा रहनु र पार्टी फुट्नुमा फरक नरहने उनको भनाई छ । ‘अहिले जसरी सरकार र पार्टी चलिरहेको छ, यही अवस्थामा रहे अहिले नेकपा नफुटे पनि कमजोर भएर जान्छ । अहिलेकै अवस्थामा रहे फुट्नु न नफुट्नुमा फरक छैन । तसर्थ अब सच्चिएर जानुपर्छ ।’ अहिलेको विवादले नेकपाको ‘कोर्ष करेक्सन’ हुने उनको विश्वास छ ।

‘पार्टी जोगाउन मुख्यमन्त्री छोड्न तयार छु’
नेकपा विवादको एउटा कारण नेकपा कर्णाली प्रदेशको आन्तरिक किचलो पनि हो । मुख्यमन्त्री शाही यो विवादको एकजना केन्द्रीय पात्र हुन् । संवादको क्रममा उनले पार्टी जोगाउनका निम्ती नेतृत्वले त्याग गर्नु पर्नेमा जोड दिइरहे । हामीले सोध्यौं, ‘के तपाई आफै चहिँ पार्टी जोगाउन मुख्यमन्त्री पद छोड्न तयार हुनुहुन्छ ?’ –‘म तयार छु,’ उनले ढुक्क साथ भने, ‘यदि पार्टीले निर्णय गरे ५ मिनेटमा मुख्यमन्त्री पद छोड्न तयार छु । तर संस्थागत निर्णयबाट विधि र प्रक्रियाका आधारमा हुनुपर्छ । कुनै एकजना नेताले भनेर वा उसको स्वार्थका लागि भने छोड्न तयार छैन ।’

कर्णाली प्रदेशको विवाद केवल कर्णालीको मात्रै समस्या नभएर केन्द्रकै विवादको बाछिटा भएको उनको भनाई छ । उनले भने, ‘पार्टी एकता गर्दा जे सम्झौता थिए, जुन भावना थियो । त्यो सम्झौता र सहमति कर्णालीमा भंग गर्न खोज्दा समस्या उत्पन्न भएको हो ।’

कर्णालीको अविश्वास प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको पनि संग्लनता रहेको उनको दाबी छ । उनको प्रश्न छ, ‘पार्टी एकता गर्दा सहमतिका साथ काम गर्ने जुन सम्झौता थियो । त्यस विपरित कर्णालीमा अविश्वास प्रस्ताव दर्ता गरियो । यदि प्रधानमन्त्रीलाई थाहै नदिएर त्यो गरिएको भए वा उहाँको हात नभएको भए एकता विरोधी काम गर्नेलाई किन कारबाही गरिएन त ?’

‘प्रधानमन्त्री सच्चिनुपर्छ’
मुख्यमन्त्री शाहीले ‘नेकपा विभाजन हुन दिने या रोक्ने’ यो प्रधानमन्त्री ओलीको कोर्टमा रहेको उनको भनाई छ । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावकै आधारमा प्रधानमन्त्रीले ओलीले कमजोरीहरुप्रति आत्मआलोचना गर्दै आगमी दिनमा सच्चिएर जाने प्रतिबद्धता जनाउनुपर्ने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सबै नेता तथा कार्यकर्ताहरुको भावना अनुरुप नै भएको उनको दाबी छ । प्रधानमन्त्री ओलीले अब त्याग गर्नुपर्ने समय आएको उनको भनाई छ । उनले भने, ‘अब न्यायिक आधारमा जिम्मेवारी हेरफेर हुनुपर्छ । प्रधानमन्त्रीले त्याग गर्नैपर्छ ।’

‘नेकपा फुटे पनि कम्युनिष्ट आन्दोलन सकिन्दैन’
धेरै आलोचकहरुको भनाई छ, ‘नेकपा फुटे कम्युनिष्ट आन्दोलन सकिन्छ ।’ तर यो भनाईलाई उनी अस्वीकार गर्छन् । उनले भने, ‘नेकपा फुटे पनि कम्युनिष्ट आन्दोलन सकिन्दैन । कम्युनिष्ट आन्दोलन केही कमजोर हुन सक्छ तर सकिने प्रश्न नै रहदैन । नयाँ हिसाबले संगठित हुन्छ ।’

मुख्यमन्त्री शाहीसँगको संवादको पूर्ण पाठ आइतबार प्रकाशन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७