विभाजनको पक्षमा छैनौं तर, मैदान छाडेर भाग्नेवाला छैनौं : वरिष्ठ नेता नेपाल

‘इमान्दार नेता–कार्यकताको साथ हामीलाई छ, ओलीलाई धुलो चटाउँछौं’


५ चैत्र २०७७, बिहीबार
madhav nepal 1 scaled

काठमाडौं, ५ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नभएको बताएका छन् ।

पार्टीले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको समापन कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले ओली प्रवृतिसँग हारेर मैदान छाडेर नभाग्ने चेतावनी दिए । एमालेको नाममा गुटको भेला गर्नेलाई कानूनअनुसार कारबाही गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति वरिष्ठ नेता माधवकुमार नेपालले चुनौती दिएका छन् ।

एमाले निर्माणमा आफूहरुको रगत, पसिना र बलिदानी रहेको बताउँदै नेता नेपालले ओलीले आफूहरुलाई सोंचे जस्तो सजिलो नभएको बताउँदै भने, ‘ओली प्रवृतिसँग हारेर मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ ।’

आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिष्ट भएको भन्दै उनले ‘नेताहरू झुक्नु हुन्छु कि’ भनेर नसोच्न कार्यकर्तालाई आश्वस्त समेत पारे । ‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ, केपी ओलीलाई चुनौती दिइरहन्छौं’, नेता नेपालले भने, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन ।’

एकताअघिकै अवस्थामा एमाले फर्किनु पर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गरे । नेपालले एमालेभित्रको विवादलाई नेताहरूबीचको लडाइँको रूपमा मात्र नबुझ्न आग्रह समेत गरेका छन् ।

उनले भने, ‘यो नेता–नेताको ‘दन्त बजान’ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो । स्थायी कमिटी र पोलिटब्यूरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन् । उहाँहरूले केपी प्रवृत्तिविरुद्धको लडाइँमा तपाईंहरूको साथमा छौं भन्नु भएको छ । पुरानो कम्युनिष्ट आन्दोलनका योद्धाहरू पनि हामीसँगै हुनुहुन्छ । इमानदार नेताहरूको साथ हामीले पाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७