ओली सरकारको आयु अब धेरै छैन : नेता सिंह


४ बैशाख २०७८, शनिबार
Prakashman singh congress nepoal leaders

स्याङजा, ४ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब धेरै लामो नभएको बताएका छन् ।

स्याङजामा आज (शनिबार) जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको पतन शुरु भइसकेको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । नेकपा एमालले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यहाँका मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिने क्रममा ओली पक्षकै एक र माधव नेपाल पक्षका ३ गरी एमालेका ४ सांसदले पार्टीको ह्विपविपरीत शाहीका पक्षमा मतदान गरेका कारण उनको सरकार जोगिएको छ ।

अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत देखिएको दाबी पनि नेता सिंहले गरे । ‘ओली सरकारको पतन शुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ,’ नेता सिंहले भने, ‘अब यो सरकारको आयु धेरै छैन ।’

कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर भएको दाबी गर्दै नेता सिंहले संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेको आरोप लगाए । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता नहुने टिप्पणी गर्दै नेता सिंहले ओलीले सत्ताका आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।

यस्तै नेता सिंहले आफ्नो पार्टी कांग्रेसको १४औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए । ‘लोकतन्त्र जोगाउन कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ,’ उनले भने । नेता सिंहले पार्टी विधि र प्रक्रियाबाट सञ्चालन हुन नसकेको आरोप पनि लगाए । कसैलाई माया गरेर पार्टीका महत्वपूर्ण पद दिँदा कांग्रेस कमजोर भएको दाबी गर्दै उनले कांग्रेसको भविष्य कार्यकर्ताका हातमा रहेको बताए । यसैले आगामी १४औं महाधिवेशनमा क्षमतावान् नेतृत्व चयन गर्न उनले आम नेता–कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७