कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सत्ता परिवर्तन पनि छलफलको एजेण्डा


५ बैशाख २०७८, आईतवार
congress karya samiti

काठमाडौं, ५ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनदेखि अहिलेको समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीस्य कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि बस्नु पर्ने बैठक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण आइतबारलाई सरेको हो । आगामी भदौमा कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भए पनि नेतृत्व गम्भीर बन्न नसकेको आरोप लाग्दै आएको छ ।

महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि पटक पटक म्याद थपिए पनि पूर्ण हुन सकेको छैन । कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको थियो । तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नपाएको बताएका छन् । कांग्रेसले महाधिवेशनका लागि क्रियाशील सदस्यको संख्या १० लाख पुर्याउने योजना बनाएको भए पनि अहिलेसम्म ६ लाख मात्रै सदस्य पुगेको बताइएको छ ।

सत्ता परिवर्तनको एजेण्डामा पनि छलफल
कांग्रेसले लामो समयसम्म विशेष मुद्दा बनाउन नसकेको सत्ता परिवर्तनको मुद्दालाई पनि आइतबारको बैठकमा गम्भीर रुपले उठाउने भएको छ । कर्णाली प्रदेशमा कांग्रेसले सघाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ । शुक्रबार भएको उक्त कदमपछि कांग्रेस उक्त सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमपछि प्रदेशमा देखिएको असन्तुष्टिलाई कांग्रेसले सत्ता परिवर्तनको अवसरका रुपमा अब मुद्दा बनाउनु पर्ने आवाज नेताहरुले उठाउन थालेका छन् । यो विषयमा गम्भीर छलफल गरी एक वा दुई प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नु पर्ने नेताहरुको जोड छ ।

ओलीले आफ्नै पार्टी एमालेका इतर पक्ष (खनाल–नेपाल) का नेताहरुलाई धमाधम कारबाही गर्ने नीति अख्तियार गरेपछि प्रदेशहरुमा सत्ता परिवर्तन हुने निश्चित जस्तै छ । यो प्रक्रिया प्रदेश हुँदै संघीय सरकारमा पनि आउन सक्ने भन्दै अब यसका लागि पनि नेतृत्व तयार हुनुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७