फुटाइयो नगरपालिकामा लगाइको ताला
सिरहा, ३ असोज । विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटक–पटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए ।
स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उनका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइ दिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिए । आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगर प्रमुख यादवविरुद्ध केहीबेर नाराबाजी समेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दा समेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।
यसअघि पनि पटक पटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्ने लगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगर प्रमुखका रुपमा कार्य सम्हाल्दै आएकी छन् । कार्यवाहक नगर प्रमुख यादवले स्थानीयवासीले उठाएका माग एक-दुई दिनभित्रै सम्बोधन गरी समस्या समाधान गरिने बताइन् । रासस