आर्यनले पाएनन् जमानत, पाँचौं पटक सुनुवाइ हुँदै


२७ आश्विन २०७८, बुधबार
aryan khan 21634114801

मुम्बइ, २७ असोज । बलिउड सुपरस्टार शाहरुख खानका जेठो छोरा आर्यन खान लागुऔषधसम्बन्धी मुद्दामा मुम्बईको आर्थर रोड जेलमा छन् । मजिस्ट्रेड अदालतले आर्यनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो ।

आर्यनसहित आठ जनालाई अक्टोबर २ मा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले मुम्बईबाट गोेवा जाँदै गरेको पानीजहाजबाट पक्राउ गरेको थियो । उक्त क्रुजमा ‘रेभ पार्टी चलिरहेको जानकारी पाएर छापा मारेको एनसीबीको दाबी छ । तर, आर्यनबाट एनसीबीले कुनै लागुऔषध फेलापारेको थिएन । उनीसँग पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमेचाहरूबाट भने एनसीबीले लागुऔषध बरामद गरेको थियो । तर पनि आर्यनलाई उनीहरूसँग जेल पठाइयो ।

समग्र बलिउड उद्योगलाई बदनाम गर्न राजनीतिक जालझेल भइरहेको भन्दै बलिउडकर्मीहरूले आक्रोश पोखिरहेका छन् । आर्यनको पक्राउपछि चारपटक अदालतमा उनको मुद्दाको सुनुवाइ भइसक्दा पनि जमानत मिलेन । बुधबार (अक्टोबर १३) पाँचौं पटक सुनुवाइ हुँदैछ । बलिउडलगायत हाइप्रोफाइल व्यक्तित्वहरूको वकालत गरिसकेका सतीश मानशिन्देले पनि आर्यनलाई जमानत दिलाउन सकिरहेका छैनन् ।

अक्टोबर ३ मा आर्यनलगायत आरोपितहरूलाई एनसीबीको रिमान्डमा पठाइएको थियो । त्यसको भोलिपल्ट रिमान्ड समाप्त भएसँगै जमानतका लागि सुनुवाइ राखिएको थियो । तर, अरू आरोपितहरूको साथबाट एनसीबी टोलीले लागुऔषध बरामद गरेको भन्दै उनीहरूलाई अक्टोबर ७ सम्म जेलमा नै राख्ने निर्णय सुनाइयो । अक्टोबर ७ मा भएको सुनुवाइमा पनि आर्यनले बेल पाएनन् र १४ दिनको न्यायिक हिरासतमा पठाइयो ।

फेरि अक्टोबर ८ मा जमानत निवेदनमा सुनुवाइको क्रममा पाँच घण्टा लामो बहसपछि अदालतले अन्ततः जमानत निवेदन खारेज गरेको थियो । त्यस्तै, अक्टोबर ११ मा पुनः स्पेसल एनडीपीएस अदालतमा जमानत निवेदनमाथि सुनुवाइ राखिएको थियो । तर, अदालतले आफ्नो जवाफ सुनाउन अझै दुई दिनको समय दिएको थियो । अर्थात्, आर्यनको जमानतको सुनुवाइ पुनः आज २ः४५ (स्थानीय समय) मा हुँदैछ । नवभारत टाइम्सबाट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७