पोखरामा कति ठूलो महादेव !
पोखरा, ५ मंसिर । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति । पद्मासन शैलीमा निर्मित मूर्तिको उचाइ ५१ फिट रहेको छ । मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढीलगायत संरचना निर्माण गर्दा १९ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
‘करिव ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ, हरियाली बगैँचा, शान्ति स्तम्भ, गुरु महाराज आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायत थप ५० प्रतिशत निर्माण कार्यका लागि तत्काल २ करोड रुपैयाँसहित थप २०-२१ करोड रकम आवश्यक रहेको छ’, पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने । थप निर्माण कार्यको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग थप कुरा राखेको बताउदै उनले सहयोग गर्न चाहने सहयोगीलाई आग्रह समेत गरेका छन् ।
पुम्दीकोटबाट पोखरा उपत्यका, स्याङजा, पर्वतका भू–भाग सहित हिमाली शृङ्खला अवलोकन गर्न सकिने भएकाले महादेवको मूर्ति निर्माण पश्चात पुम्दीकोटमा धार्मिकसँगै सबै प्रकारका पर्यटक भित्रिने उल्लेख गर्दै त्यसबाट कृषि उत्पादनको खपत, होटल, रिसोर्ट, रेष्टुरेन्ट लगायतका क्षेत्रमा कारोबार तथा रोजगार वृद्धि हुने र त्यसले समग्र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने अध्यक्ष बरालले बताए ।