तालिबान मेरा दाजुभाइ : हामिद कारजाई
काठमाडौं, १७ मंसिर । अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले तालिबान आफ्ना दाजुभाइ भएको बताएका छन् । साथै उनले आगामी दिनमा तालिबानसँग मिलेर काम गर्ने उल्लेख गरेका छन् । बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले महिला शिक्षा र रोजगारीको विषयमा पनि कुराकानी गरेका थिए ।
उनले भने, ‘यो हाम्रो मुलुक हो र हामी यो माटोका सन्तान हौं । हामीले यो माटो छाड्नु भन्दा पनि यसलाई राम्रो बनाउनु पर्छ ।’
‘अफगानिस्तानका सबै मानिसले समस्या सामना गरेका छन् । तालिबानसँगको लडाइँको नाममा विदेशी शक्तिले यहाँ बम वर्षाए । धेरै परिवार सखाप भए र अन्ततः अफगान नागरिकले नै समस्या झेलिरहेका छन्’, उनले भने ।
कारजाईले महिला शिक्षा र उनीहरुको रोजगारीको विषयमा तालिबानसँगको वार्ता सकारात्मक रहेको उल्लेख गरेका छन् । उनले सबै अफगान नागरिक अट्ने सरकार बनाउन प्रयास भइरहेको बताएका छन् । कारजाईले अमेरिका र उसका सहयोगी मुलुक अफगानिस्तानको सहयोगको लागि अगाडि आउनुपर्ने बताएका छन् । उनले अफगानिस्तानको राम्रो भविष्यको लागि तालिबानसँग मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।