देउवालाई समीकरणको चिन्ता, पौडेललाई साझा उम्मेद्वारको सकस
२९३ वटा बुथबाट मतदान हुने, साढे तीन करोड खर्च अनुमान
काठमाडौं, २१ मंसिर । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन शुरु हुन अब तीन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेशनको भव्य उद्घाटन हुँदैछ ।
त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपल्ट नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन तथा प्यानल बनाउन सकस भएको छ । कांग्रेसको संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार टुंग्याउन सकेको छैन । वरिष्ठ नेता रमाचन्द्र पौडेलको निवासमा हिजो बसेको यो समूहको बैठक निष्कर्षमा पुग्न सकेन । संस्थापन इतर समूहबाट रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दावेदार छन् । साझा उम्मेदवार तय हुँदा आफू पछि हट्न सशांक कोइराला भने तयार देखिएका छन् ।
सभापतिको उम्मेदवार टुंग्याउन यो समूहको बैठक आज पनि बस्दैछ । आज दिउसो प्रकाशमान सिंहको निवासमा आफू निकट केन्द्रिय सदस्यहरुसँग छलफल गरेपछि सभापतिको उम्मेदवार चयन गर्ने यो समूहको तयारी छ । यो समूहबाट महामन्त्रीमा भने गगन थापाको नाम सर्वसम्मत जस्तै देखिएको छ ।
यता पदाधिकारीका आकांक्षीहरुको व्यवस्थापन गर्न संस्थापन समूहमा पनि चुनौती देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पूर्व महामन्त्री कृष्ण सिटौलालाई मनाएर गठबन्धन बनाउने प्रयासमा छन् । देउवा सिटौला गठबन्धनले जिल्ला तथा प्रदेश अधिवेशनमा सफलता हात पारेकोले केन्द्रमा पनि यही गठबन्धनलाई निरन्त्रता दिने देउवाको दाउ छ । बिमलेन्द्र निधिले साथ छोडेपछि आफ्नो समूहलाई लागेको घाटा सिटौला थपिंदा मेटिने देउवाको विष्लेषण छ । देउवालाई सिटौला सँगसँगै बिजयकुमार गच्छेदार, गोपालमान श्रेष्ठलगायतका नेताहरुलाई पनि मनाउनुपर्ने बाध्यता छ ।
२९३ वटा बुथबाट मतदान हुने
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २९३ वटा मतदान बुथ र एक हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।
यही मंसिर २४-२७ मा हुन लागेको महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रिया शुरु हुने उनको भनाइ छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए । २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औं महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्नेछ । महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
मंसिर २४-२७ मा काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार भोजन र आवास उपसमिति बनाएर काम भइरहेको छ ।
नेपाली काँग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्नेभएको छ । खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ । होटलमा चाहिँ प्रतिनिधिले सुख्खारुपमा सुत्न मात्रै पाउने छन् ।
कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गर्ने भएपछि उपत्यकाका होटल व्यवसायीहरूको बिजनेस चम्कने भएको छ ।
४५ सय बेडको व्यवस्था
व्यवस्थापन समितिका संयोजक पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिको आवासका लागि ४५ सय बढी बेडको व्यवस्था गरिएको छ । उनी भन्छन्, ‘हामीलाई लगभग ४५ सय बेड चाहिने हो । तीमध्ये ३८ सय बेडहरू बुकिङ भइसकेको छ । बाँकी ७ सय जति बेड बुकिङको प्रक्रियामा छ, त्यो पनि बुधबारभित्र बुकिङ भइसक्छ ।’ महाधिवेशनमा आउने प्रतिनिधिका लागि काठमाडौंमा करिब एक सय वटा होटेल बुकिङ गर्नुपर्ने पाण्डेको भनाइ छ । उनले रातोपाटीसँग भने, ‘अहिलेसम्मको हिसाबमा ७५ देखि ८० वटा होटलमा राख्ने टुंगो भएको छ । अपुग भएमा अरु थपेर लगभग सय वटा होटल पुग्न सक्छन् ।’