‘देश एकीकरण गर्ने पृथ्वीनारायणको सालिक फुटाएर गणतन्त्रको गीत गाएर हामी बिग्रियौं कि ?’


१५ पुष २०७८, बिहीबार
Gokul Baskota 1

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इञ्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरूपयोग गर्ने गरेको बताएका छन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरूले बुथ कब्जा गर्न खेलाडीहरूलाई दुरूपयोग गरेको भन्दै अब त्यसो हुन नदिने बताए ।

नेपाल खेलकुद महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरूलाई भोट प्राप्त गर्ने भोटिङ मेहिनको रूपमा प्रयोग हुन नदिने बताए । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरूलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने पनि बताए ।

उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूणर् भूमिका निर्वाह गर्ने बताए । कतियले नेपालको मौलिकता भुल्ने गरेको पनि उनले बताए । ‘हामी यो तरिकाले बिग्रियौं कि ! देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौँ । म राजावादी भएको होइन’, उनले भने ।

सो अवसरमा बास्कोटाले खेलाडीहरूको मनोबल बढाउने काम गरेको भन्दै उनले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७