सिरहाको मिर्चैयामा ट्रकमा आगजनी
सिरहा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया खण्डमा अज्ञात समूहले सोमबार बिहान ट्रकमा आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका-६ बतहा पुल नजिक अज्ञात समूहद्वारा बिहान साढे ५ बजेतिर उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।
आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए ।
हालसम्म ट्रक चालक र कुनै व्यक्ति सम्पर्कमा नआएकोले कसले र किन आगजनी गरेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।