स्थानीय चुनावको तयारीमा जुट्यो एमाले, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम


२५ माघ २०७८, मंगलवार
amale 1

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) चुनावी कार्यक्रममा होमिन थालेको छ ।

एमालेले निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । दुई दिने कार्यक्रमको अध्यक्ष केपी शर्मा ओलीले यही माघ २८ गते भर्चुअल माध्यमबाट उद्घाटन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

महासचिव शंकर पोखरेलले आज (मंगलबार) पत्र पठाउँदै प्रदेश कमिटीहरूलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । १०औं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, स्थानीय तहमा पाँच वर्ष, स्थानीय तह निर्वाचनको तयारी प्रशिक्षणको एजेन्डा रहेको एमालेले जनाएको छ ।

प्रदेश नम्बर-१ मा फागुन १-२ गते, मधेस प्रदेशमा फागुन ३-४, वागमती प्रदेशमा फागुन ६-७, गण्डकी प्रदेशमा फागुन ८-९ गतेका लागि प्रशिक्षण कार्यक्रम तय गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा फागुन ११-१२, कर्णाली प्रदेशमा फागुन १४-१५ र सुदूरपश्चिम प्रदेशमा फागुन १६-१७ गतेसम्म गरिने तय भएको रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७