कांग्रेस कार्यसम्पादन समिति बैठक : पहिला एमसीसी पारित गरौं, त्यसपछि गठबन्धनबारे सोचौंला


२७ माघ २०७८, बिहीबार
congress

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको छ । कांग्रेसको सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

आज (बिहीबार) को बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्व अर्थमन्त्री समेत रहेका नेता डा. रामशरण महतलाई आग्रह गरेका थिए । महतले लामो व्याख्यासहित एमसीसी स्वीकार गर्नु नै बुद्धिमानी हुने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निणर्य गरेको हो ।

कांग्रेस बैठकपछि पूर्व महामन्त्री डा. शशांक कोइरालाले एमसीसी अनुुमोदन गरेर जानतामा जाने निणर्य गरेको जानकारी दिए । ‘एमसीसी नेपालको लागि राम्रो हो । कुनै अमेरिकी सेना यहाँ आउने होइन, यहाँकै कानुनअनुसार कार्यान्वयन गर्ने हो’, निणर्य जानकारी गराउँदै डा. शशांकले भने, ‘यो पाँच सय मिलियन डलरको ग्रान्ट हो । अनुमोदन गरेर यसका विषयमा जनतामा छरिएका भ्रम चिर्नुपर्छ ।’

उनले एमसीसी विकासका लागि भएको भन्दै विद्युत ट्रान्समिसन लाइन र सडक निर्माण गर्ने भएको भन्दै जनदतामा त्यो बुझाएपछि एमसीसीविरुद्धको मत कमजोर भएर जाने बताए । एमसीसी पारित गर्दा सत्ता गठबन्धन टुट्छ नि भन्ने प्रश्नमा शशांकले त्यसबारे पार्टीमा छलफल नभएको बताए । नेता कोइरालाले पहिले एमसीसी पास गर्ने गरी अघि बढेर त्यसपछि पाँच दलीय गठबन्धनबारे सोच्नुपर्ने कुरा बैठकमा भएको पनि बताएका छन् ।

‘पहिले एमसीसीलाई संसदबाट पारित गर्नुपर्छ भन्ने भएको छ । त्यसपछि गठबन्धनबारे सोचौंला’, उनले भने, ‘एमसीसीलाई यसरी अल्झाइराख्ने पक्षमा कांग्रेस छैन । अब पास गरेर जानुपर्छ । बैठकमा एमसीसी पास गरेपछि गठबन्धनबारे सोच्न सकिने कुरा भएको छ ।’ डा. रामशरण महतको बिफ्रिङपछि देउवाले जनता र अन्य दललाई समेत कन्भिन्स गर्ने विषय आएको भन्दै छोटकरीमा लेखरे ल्याउन महतलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७