एमसीसीको अमेरिकी सैन्य रणनीति र चीनसँग साइनो छैन, नेपालको हितमा छ : डा. महत


३ फाल्गुन २०७८, मंगलवार
ramsaran mahat

काठमाडौं । सत्तारुढ नेपाली काग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरे चाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् । काँग्रेसले सांसद नभए पनि पूर्व अर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो ।

महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’ उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्ति राष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’

उनले काँग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहोर्‍याएका छन् । ‘यत्रो समय अमेरिकाले सहुलियत दियो । अब कुनै हालतमा पारित गर्नुपर्छ’, उनको भनाइ थियो, ‘एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ । अहिले आयात बढ्दो र निर्यात घट्दो क्रममा हुँदा व्यापार घाटा थेगिनसक्नु छ’, उनले भने, ‘एमसीसी पास गराएर प्रशासरण लाइनमार्फत विद्युत निर्यात गर्न सक्छौँ । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्छ ।

यस्तै महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरे । नेपालले बीआरआई स्वीकार गर्न हुँदा एमसीसी स्वीकार गर्न सकिने उनको भनाइ छ । ‘हामी कुनै देशको पक्ष र विपक्षमा होइन । हामीले बिआरआई स्वीकारेको सन्दर्भमा एमसीसीको अस्वीकार गर्नुको अर्थ छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७