साढे दुई किलो ‘सुनसहितको कपडा’ बरामद, चार जना पक्राउ


१ भाद्र २०७९, बुधबार
Sun Ka Kapad1660698004

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सुनसहितको कपडा’ सहित चार जना पक्राउ परेका छन् ।
दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्चरे-४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुई जनालाई ‘सुनसहितको कपडा’ सहित पक्राउ गरिएको हो ।

साउन २९ गते विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रङको कटनको पाइन्ट र कालो-खैरो छिर्के भित्री वस्त्र अस्वाभाविक देखिएको र चेकजाँच गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृति देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरिएको थियो । जवाफमा उनले सो कपडा लिन सिन्धुपाल्चोक भोटेकोशी ५ का धनबहादुर बिक आउने बताएका थिए ।

उनको बयानका आधार प्रहरीले ३० वर्षीय धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । उनीसँग सोधपुछ गर्दा ‘सुनसहितको कपडा लैजानका लागि आएको हुँ’ बताएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्यसैगरी साउन ३० गते दुबईबाटै आएका मोरङ पथरी शनिश्चरे ४ का २८ वर्षाय रिवाज गजमेरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चेकजाँचमा क्रममा खरानी रङको कटनको पाइन्ट, खैरो रङको गन्जी र कालो खैरो छिर्के भित्री वस्त्रको तौल अस्वाभाविक रूपमा एक केजी ७०० ग्रामको देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो ।

उनले पछि ‘सुनसहितको कपडा’ भएको जवाफ दिएका थिए । साथै उनले सो कपडा लिन शेखर नाम गरेको व्यक्ति आउने बताएका थिए । उनैलाई शेखर भनिएको व्यक्तिलाई बोलाउन लगाउँदा सिन्धुली कमलामाई-५ का २६ वर्षीय सागर न्यौपाने आएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनले पनि “उक्त सुनसहितको कपडा लैजानका लागि आएको’ बताएका थिए । उनीहरूलाई सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७