भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुख श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा हानी-नोक्सानी पुर्‍याएको भन्दै विगो दावी


१७ भाद्र २०७९, शुक्रबार
Akhtiyar

काठमाडौं । भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले शुक्रवार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका-४ स्थित दैरीखोला रावलबाडा तटबन्धन आयोजनाका लागि आएको तारजाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारले श्रेष्ठसहित सबइन्जिनियर दानबहादुर बुढ्थापा, उपभोक्ता समिति अध्यक्ष अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाई तथा सोरु ४ का तत्कालीन वडाध्यक्ष डव शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख श्रेष्ठ र सबइन्जिनियर बुढ्थापाले उक्त तटबन्धन आयोजनाको झुटा बिल भरपाईको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताव तयार एवं कार्यसम्पन्न प्रतिवेदनलाई स्वीकृत गरी मूल्यांकन भन्दा बढी भुक्तानी दिएका थिए ।

त्यस्तै, उक्त आयोजनाका उपभोक्ता समिति अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाईले लागतअनुसारको काम नगराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उनीहरू प्रहरीको रहोबरमा गर्नुपर्ने आयोजना नापजाँचको मुलुल्का नक्कली बनाएको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालीन सोरु गाउँपालिका-४ का वडाध्यक्ष डव शाहीले आयोजनाको कामको अनुगमन नगरी हचुवाको भरमा योजना सम्पन्न गरेको भनी सिफारिस दिएको दाबी गरेको छ । वडाध्यक्षले झुठा सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेको देखिएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनीहरूसँग आयोजनाको १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा बराबरको रकम हानी नोक्सानी पुर्‍याएकाले सोही बराबरको बिगो माग दाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७