देउवाको बाटो हेर्दैछौं, भेदभाव भए आन्दोलन चर्किन्छ : गुरुराज घिमिरे
‘राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रपञ्च मात्रै नभई जनताको जीवन बदल्ने माध्यम हो’
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसके परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।
आज (बिहीबार) काठमाडौँमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए । उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनु भएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।
‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ’, उनले भने, ‘हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौं । त्यही अन्तर्गत यो चियापन हो । सभापति ज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौं ।’