हिजो लोकतन्त्रको खिलाफमा उभिँदा पञ्चायत, राणा र राजा ढले, अब नेकपाको पालो : नेता खाँण


९ जेष्ठ २०७६, बिहीबार
khand

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकार र सत्तारुढ दल मुलुकका एक दलीय राज्य व्यवस्था लाद्न उद्दत भएको आरोप लगाएका छन् ।

सरकारको सबै गतिविधि सर्वसत्तावादले प्रेरित देखिएको बताउँदै नेता खाँणले भने, ‘एक दलीय राज्य व्यवस्था लादन खोज्ने सरकार अब समाप्त हुन्छ ।’ काठमाडौंमा आयोजित जागरण अभियानलाई सम्वोधन गर्दै नेता खाँणले भने, ‘हिंसा र हत्याको जगमा बनेको नेकपा सर्वसत्तावादी बिचारलाई आत्मसात गरेर देशमा एक दलीय राज्य व्यवस्था लादन उद्दत रहेको छ ।’

उनले थपे, ‘कांग्रेसले कहिले विश्राम गर्न पाउँदैन,’ उनले भने, ‘राज्य व्यवस्था, जनअधिकार रक्षाको लागि, लोकतान्त्रिक मूल्य मान्यता र राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नेपाली कांग्रेस बलियो हुन जरुरी छ ।’

सरकार लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उभिएको उनको दाबी छ । ‘जनताको मौलिक हक अधिकार, प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता कांग्रेसको आत्मा हो । लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उत्तेजित वर्तमान सरकारले हेक्का रहोस् । हिजो राणा, राजा, पञ्चायत यही कारणले समाप्त भए । अब नेकपाको पनि दिन आउँदैछ,’ नेता खाँणले भने ।

फरक प्रसङ्गमा उनले नेपाली कांग्रेसले नै कांग्रेसको हुर्मत गर्दा पार्टी यो अवस्थामा पुगेको बताए । उनले भने, ‘कांग्रेसले कांग्रेसकै सात्तो नखाएको भए आजको दिन आउँदैन थियो । पार्टीको नेता कार्यकर्ताले एक अर्कालाई गाली गर्न पाइँदैन । कम्युनिष्टसँग मुकाविला गर्ने पार्टीमा मित्रभाव, आत्मीयता र सम्मान हुन जरुरी छ ।’

नेता खाँणले भने, ‘कांग्रेस इतिहासमै कठिन अवस्थामा छ कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुछ । विश्वमा कुनै ठाउ छैन जहाँ लोकतान्त्रिक शक्ति बामपन्थीसँग प्रतिष्पर्धा गर्दछ । ज्यादै गम्भीर र चिन्तित अवस्था छ । यो प्रतिकूल अवस्थामा पनि नेपाली काँग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ । मतदातालाई संरक्षण गर्नु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७