वर्षाको वितण्डा : ज्यान गुमाउने २६ पुगे, १५ जना बेपत्ता, ६ हजार बढी विस्थापित


२८ असार २०७६, शनिबार
Nepal Update flood

काठमाडौं, २८ असार । लगातार वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाउने र वेपत्ता हुनेको संख्या थपिन थालेको छ । बाढी र पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने १५ जना हराइरहेको प्रहरीले जानकारी दिएको छ । बाढी पहिरोका कारण अहिलेसम्म ६ हजार बढी विस्थापित भइसकेको जनाइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्याङ्गअनुसार वर्षाको विपदमा परी मुलुकभर ज्यान गुमाएकाको संख्या २६ पुगेको हो । जसअनुसार खोटाङ, काठमाडौं, ललितपुर र काभ्रेमा ३–३, मकवानपुर, धादिङ, भोजपुरमा २–२, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १–१ जनाको मृत्यु भएको हो ।

यसैगरी १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरूमा सिन्धुलीमा ४, भोजपुरमा २, पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, धादिङ र काठमाडौंका १–१ जना छन् ।

यस्तै बाढीपहिरोमा परी ११ जना घाइते भएका छन् । जसमा धादिङ र मकवानपुरका ३र३, काभ्रेका २, खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखाका १र१ जना घाइते छन् ।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोमा फसेका १२३ जनाको उद्धार गरिएको नेपाल प्रहरी केन्द्रीय कार्यालयका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिएका छन् । वर्षाबाट भएको जनधनको क्षति संकलनको क्रम जारी रहेको उनले बताए ।

अझै केहि दिन वर्षा कायमै रहने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । सप्तकोशी, बागमती, कमला, नारायणलगायतका नदीहरुमा पानीको सतह खतराको सूचीमाथि पुगेका छन् । जसका कारण तटीय क्षेत्रमा खतरा हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७