अपडेट : बाढी र पहिरोमा ज्यान गुमाउने २८ पुगे, १६ बेपत्ता


२८ असार २०७६, शनिबार
Nepal Update flood

काठमाडौं, २८ असार । चार दिनदेखि निरन्तर राति ठूलो वर्षा र दिनभरको झरीले मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मुत्यु हुने संख्या २८ पुगेको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र काभ्रेमा तीन÷तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक गरी २८ जनाको ज्यान गएको हो । काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।

साथै मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना गरी ११ जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक÷एक जना गरी १६ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ ।

प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा
प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा परेको छ । प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा सिरहा र सप्तरी जिल्लाका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानले गर्दा सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । भने प्रदेशसभा सचिवालयको सभाहल, सभामुख र उपसभामुखसहित कर्मचारीहरुको निवास जलमग्न छ ।

नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार निरन्तरको वर्षाले प्रदेश २ को ८० प्रतिशत भू–भागमा पानी जमेको छ । वर्षाले सबै भन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुवानमा परेको छ । चन्द्रनगर र गड्डाको प्रहरी चौकी बाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानमा परेको छ । पानी अझै परिरहेको छ । प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७