अब सहकारीले १६ प्रतिशत भन्दा बढी व्याज लिए कार्वाही, पाँच लाखसम्म जरिवाना


१७ श्रावण २०७६, शुक्रबार
sahakari bivag

काठमाडौं, १७ साउन । अब सहकारीहरूले आफ्ना ऋणीहरूबाट १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

सहकारी विभागले देशभरका सहकारीलाई अधिकतम् ब्याजदरको सीमा तोकेर नियमावली लागू गरेको हो । विभागका महानिर्देशक टोकराज पाण्डेले नियमावली साउन १९ देखि लागू हुने जानकारी दिए ।

विभागका अनुसार देशभर रहेका २४ हजार ८३७ बचत तथा ऋण सहकारीमा यो व्यवस्था लागू हुनेछ । त्यस्तै सहकारीले बचतकर्तालाई दिने ब्याज र ऋणीबाट लिने औसत ब्याज अन्तर (स्प्रेड दर) ६ प्रतिशतभन्दा बढी हुन नहुने भएको छ । वाणिज्य बैंकहरुका लागि यस्तो दर हाल साढे ४ प्रतिशत तोकिएको छ ।

sahakari

यसअनुसार अब सहकारीले बचतमा १० प्रतिशतसम्म ब्याज दिन सक्ने जनाइएको छ । हाल सहकारीका लागि कुनै पनि ब्याजदर तोकिएको थिएन । जसले गर्दा उनीहरुले मनलाग्दी रुपमा ब्याज अशुल्दै आएका थिए । सहकारीले बचतमै १२ प्रतिशतको हाराहारीमा ब्याज दिँदै आएका छन् भने ऋणीबाट २४ प्रतिशतसम्म अशुल्दै आएका छन् ।

सहकारी विभागले सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्दे्शिका तयार गर्ने भएको छ । अनुगमनका क्रममा ब्याजदरलाई मुख्य जोड दिइने विभागले जनाएको छ । तोकिए भन्दा बढी व्याज लिइएको पाइए कसुर अनुसार पाँच लाखसम्म जरिवाना सहकारीलाई हुने भएको छ ।

वाणिज्य बैंकहरुको औसत ब्याजदर, सहकारी महासंघ विषयगत केन्द्रीय संघहरुबाट प्राप्त सुझाव, सहकारीहरुको हालको औसत ब्याजदर लगायत विषयलाई अध्ययन गरी नयाँ ब्याजदर तोकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७