सरकारको अलोकप्रिय गतिविधिका कारण नागरिकमा निरासा : प्रकाशमान सिंह


१० भाद्र २०७६, मंगलवार
prakash 1

काठमाडौं, १० भदौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २३ औं स्मृति दिवस मनाइएको छ ।

नेपाल महिला सङ्घ काठमाडौं जिल्लाको आयोजनामा आज बिहान स्व. सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो ।

कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताएका छन् ।

‘नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् सिंहको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने, ‘विसं २०७२ मा जारी भएको संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो महिलाको आन्दोलनका कारण भएको हो ।’

उनले अहिले सरकारकै कारण जताततै भ्रष्टाचार बढेको आरोप समेत लगाएका छन् । उनले सरकारकै संरक्षणमा ठूला ठूला भ्रष्टाचारहरु भइरहेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय गतिविधिकै कारण नागरिकमा निरासा पैदा भइरहेको समेत बताएका छन् ।

काङ्ग्रेस काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, नेपाल महिला सङ्घ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो । महिलाको अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते स्व. मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७