स्वर्ण जितेपछि नीमाले भनिन्, ‘आफ्नै माटोमा स्वर्ण जित्दा छुट्टै आनन्द आउँदो रहेछ’

नीमाले आफ्नो स्वर्ण गलामा लगाई दिंदा आमा बनिन् ‘भावुक’


१९ मंसिर २०७६, बिहीबार
nima gharti magar 1

काठमाडौं, १९ मंसिर । उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकी छन् ।

साग अन्तर्गत बिहीबारको उसुको नान्छवान अल राउण्डमा नीमाले स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान बनाउन सफल भएकी छन् ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराएकी हुन् । निमाले १८.१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक बनाइन् ।

१२ औं सागका भारतीय भूमिमा स्वर्ण जित्दा भन्दा नीमालाई यस पटक फरक अनुभव भइरहेको छ । खेल जीवनमा पहिलोपल्ट स्वर्ण जित्दा जोकोहीलाई लागि अनुपम क्षण बन्छ । नीमालाई पनि १२ औं सागमा स्वर्ण जित्दा त्यस्तै भयो । तर, यस पटक पहिलो पटक स्वर्ण जित्दाको भन्दा दोब्बर खुशी मिलेको नीमाले सुनाइन् ।

दोस्रो पटक स्वर्ण पदक जितेपछि नीमाले आफ्नो अनुभव सुनाइन्, ‘आफ्नै माटोमा, सबै नेपालीका अगाडि स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ । योे खुशी व्यक्त गर्न मलाई शब्दमा गाह्राे भइरहेको छ ।’

मान्छे सफलतापछि स्वार्थी पनि बन्छन् । तर दोस्रो पटक स्वर्ण जितेर कीर्तिमान कायम गरिसक्दा समेत नीमामा न कुनै घमण्ड छ, न कुनै अहम । उनी आफ्नो यो सफलता आफू एक्लैको ठान्दिनन् । उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् । आफ्नो सफलताको कारण आफू एक्लै मात्रै नभएको बताउँदै नीमाले भनिन्, ‘यो सफलताको श्रेय मेरो अभिभावकलाई दिन चाहन्छु ।

निमाले आफूले जितेको स्वर्ण पदक आफ्नो परिवारलाई समर्पित गर्न चाहेको बताइन् । आमालाई आफूले जितेको पदक लगाई दिँदै निमाले भनिन्, ‘म यो पदक मेरो परिवारलाई समर्पित गर्न चाहन्छु ।’

उनले आफूलाई खेल क्षेत्रमा लाग्न आमालगायत परिवारका सबैले ठूलो सहयोग गरेको सुनाउँदै भनिन्, ‘अरुका धेरै आमाहरुले छोरीहरुलाई बाहिर निस्कन नदिइरहेका बेला मेरी आमाले मलाई कहिल्यै खेल क्षेत्रमा लाग्न रोक्नु भएन, बरु कसरी हुन्छ खेलमा लाग्न प्रेरणा दिइरहनु भयो ।’

छोरीको सफलता देखिरहेकी र छोरीले आफूलाई माला लगाई दिंदा नीमाकी आमा समेत भावुक बनिन् । उनले आफ्नो खेल प्रतिभालाई निखार्न र खेल जीवनमा बाटो देखाई दिने प्रशिक्षकहरुलाई पनि बिर्सिनन् । थपिन्, ‘मेरो यो सफलतामा मेरा प्रशिक्षकहरूको पनि ठूलो योगदान छ ।’

दोस्रो पटक स्वर्ण जितेपछि थप मेहनतका साथ खेलमा लाग्ने हौसला मिलेको बताउँदै उनले भनिन्, ‘खेलकै माध्यमबाट देशलाई चिनाउने कोशिस सँधै गरिरहने छु ।’

उपाधि हात पार्नु अगाडिको अवस्थाबारे नीमाले भनिन्, ‘सागको १२ औं संस्करणमा स्वर्ण ल्याएका कारण पनि मलाई दबाब थियो,’ उनले थपिन्, ‘तर मैले दबाबलाई दवाएर आफ्नो ‘बेस्ट’ दिन्छु भनेर खेलें । सोचे जस्तै खेल्न सकें, खुशी लागिरहेको छ ।’ भारतमा भएको १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जित्दा एक नीमाको नाममा रहृयो । योसँगै नेपालको स्वर्ण ३० पुगेको छ ।

 

यो पनि पढ्नुहोस् 
स्वर्ण जित्दै निमाले बनाइन् नयाँ इतिहास
दीपक हमालले दिलाए उसुमा थप स्वर्ण
उसुका विजय सिन्जालीले जिते स्वर्ण
उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण
उसुका अभागी खेलाडी पदम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७