दिलीप हत्या प्रकरण : बिना मुचुल्का शव उठाउने इन्स्पेक्टर यादव जिल्ला तानिए

जनकपुनर, २७ पुस । नदी उत्खनन्को विरोध गरेका कारण कुटपिटपछि पिटरले किचेर हत्या गरिएका दिलीप महत्तोको शव बिना मुचुल्का उठाएको भन्दै इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् ।
कुटपिटपछि टिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोको शव मुचुल्का विनै उठाएपछि विवादमा तानिएका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको हो ।
इस्पेक्टर यादव ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्का विनै शव उठाउने कार्य गरेको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

त्यसपछि विवादित बनेका उनलाई आइतबार जिल्ला तानिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले उनलाई जिल्ला बोलाइएको जानकारी दिएका छन् । ‘विवादका कारण भन्दा पनि प्रहरी भित्रकै आन्तरिक कारणले उहाँलाई जिल्ला बोलाएका हौँ’, एसपी बस्नेतले भने ।
इन्स्पेक्टर यादव मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख हँदा पनि तस्करसँग ‘सेटिङ’ मिलाएर सीमावर्ती क्षेत्रमा तस्की चलाएको आरोपमा कारबाही भोगिसकेका व्यक्ति हुन् । उनी राजपा नेता राजकिशोर यादवका भाइ हुन् ।
त्यहाँ रहँदा उनले तस्करहरुसँग मासिक रुपमा पैसा लिएर लागूऔषध ओसारपसारदेखि दैनिक उपभोग्य सामग्री समेत नेपाल ल्याउन र भारततर्फ लैजाने व्यवस्था मिलाएको आरोप लागेको थियो ।