सन्ध्या भन्छिन्, ‘यौन भनेपछि दिक्क लाग्थ्यो …’


प्रकाशित मिति : 22 January, 2020 4:13 pm

काठमाडौं, ८ माघ । हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ ।

‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो ?’ सन्ध्याको उत्तर थियो, ‘प्रेमी छैन, श्रीमान् छैन, परिवार छैन र तनाव पनि छैन ।’ सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् । उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो, उनमा यौन चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसेक्सुअल’ हुन् ।

त्यसैले उनले विवाह गरेकी छैनन् । तर, परिवारका विषयमा भने उनको आफ्नै धारणा छ । एउटा सुखी र खुसी परिवारमा श्रीमान–श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन् । अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् । उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ ।

‘२३–२४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो,’ सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु पे्रमी खोज्न थालेका थिए । मलाई भने त्यसमा कुनै चासो थिएन ।’ उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन ।

उनी भन्छिन्, ‘त्यसबेला मलाई एक पुरुष ज्यादै मनपथ्र्यो । मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो । समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो, जुन सामान्य थियो । तर जब कुरो यौनसम्म पुग्यो, मलाई निकै असहज लाग्यो । मलाई यस्तो लाग्यो मेरो शरीरले यौनलाई स्वीकार गर्न सक्दैन । मलाई यौनको जरुरी नै थिएन ।’

सन्ध्या यौनबाट तर्सिन्न थिइन् । तर, यौन बिना पनि उनी जीवनको आनन्द लिन सक्थिन् ।
कसरी पहिचान भयो यौनिकता ?

‘सम्बन्धमा प्रेमको भाव उत्पन्न हुन्छ तर यौन आकर्षण ममा छँदै थिएन,’ उनी भन्छिन्, ‘जुन पुरुषलाई म प्रेम गर्थेँ, उसको हात पक्रिएर हिँड्न मलाई रमाइलो लाग्थो । उसलाई अंगालो हाल्न, उसँग समय बिताउन मनपथ्र्यो तर यौन भनेपछि दिक्क लाग्थ्यो । मेरो शरीरले नै प्रतिक्रिया दिन छाड्थ्यो ।’
सन्ध्यालाई यस्तो कयौं पटक भएको छ ।

जति पटक उनको सम्बन्ध शारीरिक सम्पर्क नजिक पुग्यो, त्यति नै पटक पछि हट्न बाध्य हुन्थिन् । उनले यो समस्या साथीहरुलाई सुनाइन् । उनीहरुले डाक्टरसँग सल्लाह लिन सुझाए । तर, डाक्टरकहाँ जानुअघि उनले यसबारे आफैले इन्टरनेटमा पढ्न र बुझ्न थालिन् । उनी सामाजिक सन्जालमा ‘एसेक्सुआलिटी’ सँग सम्बन्धित केही समूहमा पनि जोडिइन् ।

‘सुरुमा मलाई कुनै गम्भीर समस्या छ कि भन्ने लागेको थियो । सम्बन्ध टुटेकोमा मैले आफूलाई नै दोषी ठानें । जब मैले आफ्नो यौनिकताबारे बुझ्न थालें, त्यसपछि आफैलाई स्वीकार गर्न थालेँ,’ सन्ध्या भन्छिन्, ‘विस्तारै मैले यो रोग नभएर आफू असामान्य भएको थाहा पाए । सामाजिक सन्जालमार्फत मैले मेरैजस्तो अनुभूति भएका मानिसहरु भेट्न पाएँ । यसरी म आफूलाई चिन्न सफल भएँ ।’
आफूलाई चिनेपछि उनले कुनै व्यक्तिसँग सम्बन्ध कायम गर्ने प्रयास गरिन् त ?

‘कयौं पटकको अनुभवबाट आफूबारे थाहा पाइसकेपछि मैले बुझिसकेकी थिएँ, कुनै पुरुषसँग म नजिक हुने हो भने उसले यौनको कुरा गर्न थाल्नेछ । जसका लागि म तयार थिइनँ । यसबारे कुनै सम्झौता गर्न पनि म तयार थिइनँ । कुनै एसेक्सुअल पुरुषसँग मात्र मेरो सम्बन्ध टिक्नसक्थ्यो । त्यसैले मैले पुरुषसँग सम्बन्ध स्थापनाको प्रयास नै छाडिदिएँ,’ उनी भन्छिन् ।

‘कैयौं मानिस एसेक्सुअल हुन्छन् तर उनीहरुलाई यसबारे सही जानकारी नहुँदा दुःख पाइरहेका हुन्छन् । सामाजिक र पारिवारिक दबाबका कारण आफ्नो यौनिकतालाई गोप्य राख्न उनीहरु बाध्य छन्,’ उनी भन्छिन् ।

सन्ध्याको सपनाको परिवार
आफूजस्तै एसेक्सुअल पुरुष उनले फेला पारिन् त ? अहँ । उनी भन्छिन्, ‘सामाजिक सन्जालमा त भेटिए तर वास्तविक जीवनमा भेटेको छैन । यदि मेरै समुदायको कुनै पुरुष भेटेँ भने म परिवारको बारेका सोच्नेछु ।’ उनको नजरमा परिवारको अर्थ र महत्व के हो त ?

जवाफमा उनी भन्छिन्, ‘अहिलेसम्म म एक्लै छु । मलाई लाग्छ, पछिसम्म एक्लै नै हुनेछु । मेरा साथी, म बस्ने भवनका मानिसहरु नै मेरा परिवार हुन् । हामी अलग अलग कोठामा बस्छौँ तर हाम्रो भान्सा एक छ । हामी भेट्छौं, दुःखसुखका कुरा गर्छौँ । हामी परिवार हौं । परिवार मेरो पहिचान भन्दामाथि हाबी नहोस भन्ने मेरो धारणा छ ।’ यद्यपि मन मिल्ने मान्छे भेटिए त्यस्तो व्यक्तिसँग उनी जीवन बिताउन तयार छिन् । तर, यो सम्बन्धको आफ्नै दायरा हुनेछ ।

‘त्यस्तो साथीसँग म एकै घरमा बस्न चाहन्छु । तर, हामीबीच दूरी पनि हुनुपर्छ । हामी एकै घरमा बसेपनि कोठा अलग हुनुपर्छ । हामी सँगै खाना खानेछौँ । भावनात्मक रुपमा साथमै हुन्छौं,’ उनी ती दायराबारे चर्चा गर्छिन् ।

आमा बन्ने र बच्चा पाउने सन्दर्भमा सन्ध्या प्रष्ट छिन् । ‘मलाई अरुकै बच्चा मनपर्छ । आफू जन्माउन चाहन्नँ । मलाई लाग्छ बच्चाको चाहना राख्दा महिला कमजोर बन्छिन,’ उनी भन्छिन् ।

‘मानिसहरु प्राय मलाई बुढेसकालमा बच्चाले तिम्रो साथ दिन्छ भनेर सम्झाइरहन्छन् । तर, सबै बच्चाले आफ्ना आमाबुबालाई बुढेसकालमा हेरचाह गर्छन् भन्ने मलाई लाग्दैन,’ उनी भन्छिन्, ‘म बुढेसकालका लागि यतिबेला पैसा जम्मा गरिरहेको छु, लगानी गरिरहेको छु । मलाई थाहा छ म एक्लै छु र आफ्नो ख्याल आफैँले राख्नुपर्छ त्यसैले म आफ्नो शरीरको राम्रो हेरचाह गर्छु, स्वस्थ्य खाना खान्छु, योग गर्छु र कुनै फैसला लिनुभन्दा अगाडि राम्रोसँग सोच्छु ।’

परिवार र छिमेकीले विवाह गर्न दबाब दिएपनि उनले सबै प्रस्ताव अस्वीकार गरेकी छिन् । ‘मेरो कान्छी बहिनीको विवाह भइसकेकोले ममाथि विवाहको दबाब झन् बढेको छ,’ उनी सुनाउँछिन्, ‘म कसैको कुरा सुन्दिनँ । म यसबेला एक्लै छु । एक्लै खाना खान्छु, किनमेल गर्न जान्छु । बिरामी हुँदा आफैँ अस्पताल जान्छु । विवाह जरुरी छजस्तो मलाई लाग्दैन । मेरो हिसाबमा जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वतन्त्र र शान्त जीवन बाँच्नु हो ।’ बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्