अपराध नियन्त्रण र प्रहरी समायोजन नव नियुक्त आइजीपी ज्ञवालीका चुनौती

नव नियुक्त आइजीपीलाई दर्ज्यानी  चिह्न प्रदान, व्यक्ति केन्द्रित दौडमा नलाग्न गृह सचिवको निर्देशन


२९ माघ २०७६, बुधबार
igp


काठमाडौं, २९ माघ । नव नियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्नबाट सुशोभित गरे ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उहाँले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी रहेको बताए । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने ।

प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए ।

हरेक हप्ता गृह मन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औंल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए ।

गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कायम गर्न चुक्यौं भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’

अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौती : नव नियुक्त महानिरीक्षक ज्ञवाली
उक्त समारोहमा नव नियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताउनुभएको छ । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो ।

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।

आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा रहेको बताउँदै उनले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७