लकडाउनको नवौं दिन : सबै मुख्य शहर सुनसान, कति पुग्यो कोरोना संक्रमित ?


१९ चैत्र २०७६, बुधबार
Lockdown 9th day.00 00 04 17.Still001

काठमाडौं, १९ चैत । सरकारले लागू गरेको लकडाउनको नवौं दिन काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले लागुको लकडाउनका कारण सबै शहर सुनसान भएको हो ।

लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने १५ सय भन्दा बढिलाई नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने दुइसय बढी सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

कारवाही स्वरुप सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर भेटिएकै ठाउँमा चार घण्टा उभ्याउने नीति प्रहरीले लिएको छ ।  विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

विश्वमा काेराेनाबाट मर्नेकाे संख्या ४२ हजार नाघ्याे 

 विश्वमा काेरोना  भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ५ सय २८  पुगेको छ । ८ लाख ६२ हजार ५७४ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।  संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक लाख ७९ हजार १२७ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८३७ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या १२ हजार ४२८ पुगेको छ । कोरोनासँग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४६४ जनाको ज्यान गएको छ । स्पेनमा थप ७४८ जनाको ज्यान गएको छ । यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । 

थप ७१९ जनाको मृत्युपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहाँ कोरोनाका कारण ३ हजार ५२३ जनाको मृत्यु भएको छ ।
यस्तै इरानमा २ हजार ८९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा एक हजार ७८९ जनाको मृत्यु छ । जर्मनीमा थप १३० जनाको मृत्यु भएको छ भने मृतकको संख्या ७७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा एक हजार ३९ जनाको ज्यान गएको छ । बेल्जियममा ७०५ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १६० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

भारत कोरोना संक्रमित स्ख्या बढ्दाे
  नेपालसँग खुल्ला बाेर्डर रहेकाे छिमेकी राष्ट्र भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । भारतमा मृतकको संख्या ४५ पुगेको छ भने एक हजार पाँच सय ९० जना संक्रमित छन् । आम नागरिकले लकडाउन र सरकारी निर्देशन पालना नगरेका कारण क्षति बढिरहेको भारतीय अधिकारीहरुको भनाई छ ।

पाकिस्तानमा २६ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ भने संक्रमितको संख्या दुइ हजार ४२ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पाँच जनाको ज्यान गएको छ ।

नेपालमा नयाँ संक्रमण छैन् 

नेपालमा बेल्जियमबाट काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना देखिएपछि नयाँ संक्रमित देखिएको छैन् । उनी नेपालको पाँचौ सक्रमित व्यक्ति हुन् । उनी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनी युवती चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएकी हुन् ।

उनीससहित चार जनको उपचार भइरहेको छ । भने एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७