इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, आफ्नै १९ सैनिकको मृत्यु


२९ बैशाख २०७७, सोमबार
2020 05 11 ७७७७ 329699037

दुबई, २९ बैशाख । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन् ।

स्ट्रेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्ने गरेको छ । इरानी टेलिभिजन आइरिबले एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको जनाएको छ ।

फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यममा प्रसारण भएझैं कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा नडुबेको जनाएको छ । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

आइरिबले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।

यो दुर्घटना इरान र संयुक्त राज्य अमेरिकाबीच जारी तनाबकै बीचमा भएको छ । सन् २०१८ देखि नै दुबै मुलुकबीच तनाबकै स्थिति रहे पनि गत जनवरीको शुरुमा वरिष्ट इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिए पछि तनाब अझ बढेको छ ।

अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि जनवरी ९ मा इराकस्थित अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुबाहक विमान इरानमा खसेको थियो जसका कारण विमानमा यात्रारत १७६ जनाको निधन भएको थियो । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७