रुकुम घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो


१४ जेष्ठ २०७७, बुधबार
18eaa0aa8199eb27a133de7dcdbf178a w1000 h500 cp

जाजरकोट, १४ जेठ । रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

जाजरकोटको भेरी नगरपालिका–११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो ।

वेपत्ता रहेका लोकेन्द्रको शव भेटिएको प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले पुष्टि गरेका छन् । मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेको उनले जानकारी दिए ।

यससँगै रुकुम पश्चिमको यो घटनामा ज्यान गुमाउनेहरुको संख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।

भेरी नगरपालिका–११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेका थिए । ज्यान जोगाउन नवराजसहितका केही युवाहरु भेरी नदीमा हामफालेका थिए ।

घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरी समेत दिएका छन् । रुकुमपश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने आठ जनाको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७