विप्लवको गतिविधि चुनौतीपूर्ण : सेना


६ असार २०७७, शनिबार
Biplab

काठमाडौं, ६ असार । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ ।

उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ ।

जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव समूहका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ । यसका साथै कोरोना रोकथाममा सेनाले गरेको काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए् । ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा छलफल जारी छ’, प्रवक्ता पाण्डेले भने ।

विप्लव कार्यकर्ताको अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको छ । बैठक आइतबार सकिने छ ।

प्रहरीले उक्त समूहका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० गते ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो । बज्राचार्य हतियार तथा विस्फोटक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनले उपत्यकाका विभिन्न स्थानमा हतियार भण्डारण गरेको पाइएको छ ।

उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि जंगीअड्डाले त्यसबाट चुनौती खडा भएको जनाएको हो । विस्फोट गराउने जस्ता आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।

उनीहरूले लकडाउनको मौकामा विभिन्न स्थानमा विस्फोटका घटना गराउनेतर्फ सजग हुनुपर्ने विश्लेषण जंगीअड्डाले गरेको छ । सरकारका सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेका बेला उनीहरूले त्यसको फाइदा उठाउँदै विस्फोट गराई आतंकित बनाउन सक्नेतर्फ जंगीअड्डा सचेत भएको हो ।

बैठकमा उपत्यकासहित सबै प्रदेशका पृतनापतिले आआफ्नो क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सेनाले गरेको कार्यबारे उनीहरूले रिपोर्टिङ गरेका थिए । विदेशबाट फर्किका नेपालीको व्यवस्थापन गर्दा आइपरेका चुनौती र त्यसको सहजीकरणको उपायबारे बैठकमा छलफल भएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७