आज प्रदेशसभा–३ को पहिलो बैठक, सांसदहरुमा उत्साह


१८ माघ २०७४, बिहीबार
3

हेटौंडा , १८ माघ : देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार बस्दै छ । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ ।3

पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन् । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यस पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । बैठकको शुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउने छन् । ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बुधबार साँझ बैठक बसी उक्त कार्यसूची तय गरिएको हो ।

बिहीबारको पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुनेछ । अन्तरिम कार्यविधिभित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहितालगायत विषय रहेको प्रदेशसभा सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिएका छन् । पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक÷एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची रहेको उनले जानकारी दिएका छन् । पाण्डेले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्ने छन् ।

सिंगारियो सभाहल

माघ ११ देखि प्रथम प्रदेशसभा बैठकको तयारी सुरु भए पनि अन्योलताका कारण कर्मचारीले तयारीलाई तीव्रता दिन सकेका थिएनन् । माघ १५ देखि संसद् सचिवालयका कर्मचारीले काम सुरु गरेपछि तयारीले तीव्रता पाएको हो ।

प्रथम प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालय रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सिँगारिएको छ । बुधबार साँझ अबेरसम्म पनि सभाहल व्यवस्थित गर्न र भवनमा रंगरोगन गर्न कर्मचारी र कामदार व्यस्त देखिन्थे । प्रदेशसभा सांसदका लागि १ सय १० वटा रातो रंगको कुर्सी व्यवस्था गरिएको छ । सभामुखको ड्याससँगै विशिष्ट व्यक्ति र पत्रकारलाई बस्ने छुट्टै स्थानको पनि व्यवस्था गरिएको छ । ‘पहिलो प्रदेशसभा बैठक भएकाले अरू प्रदेशका लागि पनि उदाहरण बन्ने गरी हामीले तयारी गरेका छौं’, प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेले भने–‘प्रथम प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।’

प्रदेशसभा हलमा ३ तहको सुरक्षा व्यवस्था मिलाइएको छ । पहिलो घेरामा ३० जना मर्यादापालक, त्यसपछि बम डिस्पोजल टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी रहने उनले बताए। बैठकको टेलिभिजन र प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारणको समेत तयारी गरिएको छ। प्रदेशसभा सचिवालयमा सभामुखको कार्यकक्ष र स्वास्थ्य डेस्क पनि स्थापना भएको छ । बुधबार साँझ पहिलो प्रदेशसभा बैठकको रिहर्सल पनि गरिएको थियो ।

सांसदहरू उत्साहित

पहिलो प्रदेशसभा बैठकमा पहिलो पटक सांसद भएर सहभागी हुन लागेकी सिन्धुलीकी रीता माझी निकै उत्साहित छिन्। ‘पहिलो पटक प्रदेशसभा बैठकमा सहभागी हुँदै गर्दा निकै उत्साहित छु’, उनले भनिन्, ‘जनताबीच धेरै प्रतिबद्धता गरेका छौं, ती काम गर्न मार्ग्निर्देश प्राप्त हुन्छ भन्ने विश्वास छ।’ माझीजस्तै भक्तपुरकी सिर्जना सेन्चुरी पनि पहिलो प्रदेशसभा बैठकमा सहभागी हुन उत्सुक छन् । ‘यसअघि शपथग्रहण कार्यक्रममा अरू कुनै कार्यक्रम भएन, यसपटक एजेन्डामा पनि प्रवेश हुने भएकाले मेरा लागि यो निकै महत्वपूर्ण क्षण हो’, उनले भनिन्, ‘नयाँ अनुभव सँगाल्न म उत्साहित छु ।’ २८ वर्षीय सेन्चुरी नेपाल मजदुर किसान पार्टीबाट प्रदेशसभाका समानुपातिक सांसद हुन् ।

संसदीय दलको नेता र सचेतक नहुँदा अप्ठ्यारो

प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले प्रमुख सचेतक र संसदीय दलका नेता चयन गरिनसकेकाले सभामुखलाई बैठक तयारीको समन्वय गर्न केही समस्या भएको छ। ‘राजनीतिक दलहरुले संसदीय दलका नेता र सचेतक चयन गरिनसकेकाले तयारीलगायत विषयमा कुरा गर्नुपर्दा कोसँग गर्ने भन्ने केही समस्या भयो’, प्रदेशसभाका ज्येष्ठ सदस्य तथा सभामुख डोरमणि पौडेलले भने। प्रदेशसभा सचिवालयले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक-एक जना प्रदेशसभा सदस्यलाई अग्रभागमा राख्नेगरी बस्ने व्यवस्था मिलाएको छ। ‘को अघिल्लो पंक्तिमा बस्ने भन्ने दलहरुले टुंगो लगाउँछ, हामीले सबै दलका एक-एक जनालाई अघिल्लो पंक्तिमा बस्ने व्यवस्था मिलाएका छौं’, पौडेलले भन े।

१ सय १० प्रदेश सांसदमध्ये ६६ जना प्रत्यक्ष निर्वा्चित रहेका छन्। तीमध्ये ४२ जना नेकपा एमाले, १५ जना नेकपा माओवादी केन्द्र, ७ जना नेपाली कांग्रेस, १ जना नयाँ शक्ति पार्टी नेपाल र १ जना नेपाल मजदुर किसान पार्टीबाट निर्वा्चित सांसद हुन् । समानुपातिकतर्फ एमालेका १६, कांग्रेसका १४, माओवादी केन्द्रका ८, विवेकशील साझा पार्टीका ३, राप्रपाका १, नेपाल मजदुर किसान पार्टीका १ र राप्रपा प्रजातान्त्रिकका १ जना सांसद छन्।

होटलमा सांसदलाई ४० प्रतिशत छुट

प्रदेशसभा बैठकमा सहभागी हुन १३ जिल्लाका अधिकांश सांसद बुधबार साँझसम्म हेटौंडा आइपुगेका छन्। हेटौंडाका होटलमा बस्ने सांसदलाई होटल एसोसिएसन मकवानपुरले ४० प्रतिशत छुट दिएको छ। ‘माननीयहरूलाई होटलमा खान, बस्नका लागि हामीले ४० प्रतिशत छुट दिएका छौं’, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले भने, ‘माननीयहरुको हेटौंडा बसाइ सुखद बनाउन हामी लागिपरेका छौं।’ यसअघि शपथग्रहणका लागि हेटौंडा आएका सांसदलाई होटल एसोसिएसनले निःशुल्क खाने, बस्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७