सरकार र डा. केसीबीचको वार्ता फेरि बस्ने गरी स्थगित


२२ आश्विन २०७७, बिहीबार
8a1a0e0b69d8ab0ea2205bb1a0738c7e w1000 h500 cp

काठमाडौं, २२ असोज । सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता केही समयका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्ने गरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिएका छन् । उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए ।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाइ दुवै पक्षबीच फेरि छलफल भइ दिउँसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताएका छन् । उनले आफूहरुले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिनयता अनसनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७