काठमाडौं उपत्यकामा २४ घण्टामै थपिए २५ सय ४० संक्रमित


२२ आश्विन २०७७, बिहीबार

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार उपत्यकामा १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ४३ सय ६४ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका २५ सय ४० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७