‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार
korona 4

काठमाडौं, १४ कार्तिक । –बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो ।

अस्पतालमा आइसियू र भेन्टिलेटरको अभावले बेहोस नहुँदासम्म बिरामीलाई अस्पताल नजान सरकारले अनुरोध गर्दै आएको थियो । सरकारको सोही निर्णयको पालना गरी अन्तिम अवस्थामा भेरी अस्पताल नेपालगन्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

–सुनसरीको धरानमा होम आइसोलेसनमा बसेका ७० वर्षीय एक पुरुषको २६ असोजमा मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर, बिपी कोभिड अस्पतालमा बेड अभाव भएका कारण उनलाई घरमै राखिएको थियो ।

Home.jpg .2020 10 30

–गत जेठ २० मा डोल्पाका एक ५८ वर्षीय पुरुषको निधन भयो । अस्पतालमा बेड नपाएपछि उनी होम आइसोलेसनमा बसेका थिए । चिकित्सकको निगरानी नपाउँदा उनको मृत्यु हुन पुग्यो ।

–गुल्मीका ६९ वर्षीय पुरुषको ४ असारमा मृत्यु भयो । भारतबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भए पनि उनलाई कोरोनाको त्रासका कारण अस्पताल भर्ना नगरी घरमै राखिएको थियो, घरबाटै स्वाब संकलन गरिएको थियो । अस्पतालमा बेड नपाउँदा होम क्वारेन्टिनमै उनको मृत्यु भयो ।

कोरोना संक्रमितले अस्पतालमा बेड नपाएर घरमै ज्यान गुमाएका यी प्रतिनिधि घटना मात्रै हुन् । बुधबारसम्म होम आइसोलेसनमा रहेका ३५ संक्रमितको मृत्यु भएको छ । घरमै मृत्यु हुनेहरू चारदेखि एक सय आठ वर्षसम्मका छन् । समयमा उपचार पाउन सकेको भए उनीहरूमध्ये धेरैको ज्यान बच्न सक्थ्यो ।

कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमा यस्तो सेवा पाउन निकै कठिन छ ।

संक्रमित बढ्दै गएपछि सरकारले बेहोस भएको खण्डमा वा पिसाब रोकिएको अवस्थामा मात्रै अस्पताल आउन निर्देशन जारी गरेको छ । जसले गर्दा होम आइसोलेसनमा बस्नेको संख्या पनि बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नौ सय चारजनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये करिब ६५ प्रतिशत वृद्धवृद्धा छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आइसियूभन्दा पनि कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको बताए । उनका अनुसार अक्सिजनको मात्रै सपोर्ट दिन सकेको खण्डमा धेरै व्यक्तिलाई बचाउन सकिन्छ ।

देशभर एक सय २५ सरकारी र निजी क्षेत्रका तीन सय ३६ गरी जम्मा चार सय ६१ अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा २७ हजार मात्रै बेड रहेको छ । जसमध्ये सात हजार मात्रै सरकारी अस्पतालमा उपलब्ध छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७