गोली लोड गरिएको पेस्तोलसहित २३ वर्षीय टुमासिंह पक्राउ


१४ कार्तिक २०७७, शुक्रबार
pakrau
फाइल फोटो

सुनसरी, १४ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।

हतियार समेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए ।

पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७