सिमकोट विमानस्थलमा बढ्यो यात्रुको चाप


२० कार्तिक २०७७, बिहीबार
Simkot airport Humla

हुम्ला, २० कार्तिक । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ ।

कोरोना सङ्क्रमणको डरले जिल्ला बाहिरका काठमाडौं, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका लागि भन्दै फेरि जिल्ला बाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।

लामो समयको बन्दाबन्दीपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेका विद्यार्थीहरु दशैं सकिएलगत्तै बाहिरिन थालेका हु्न । जिल्ला बाहिर जानेको संख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्ला बाहिर गहिरहेको जनाइएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म आफ्नो उडान भर्दै आएका निजी हवाईजहाजहरुले एक महिना यतादेखि विमानस्थलको स्तरोन्नति कार्य भइरहेकाले बिहान ६ बजेदेखि १० सम्म मात्रै उडान भर्ने हुँदा यात्रुलाई टिकट पाउन समस्या निम्तिन थालेको छ । सिमकोट विमानस्थलको गेटमा दैनिक जिल्ला बाहिर जाने यात्रुको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७