ओलीले भने, ‘प्रधानमन्त्री पद कमण्डलु हो र भन्ने बितिक्कै छाड्नलाई ?’


२६ पुष २०७७, आईतवार
702423ebb8bba3d29d6194a5d6252445 w1000 h500 cp

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन् ।

आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए । ‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा’, उनले भने ।

उनले प्रधानमन्त्री पद भन्ने बितिकै सहजै छोड्न नसकिने बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘यो कमण्डलु हो र छोड भन्ने बितिक्कै छाड्ने ?’ उनले प्रधानमन्त्रीको पद जिम्मेवार ठाउँ भएकाले सजिलै छोड्न नसकिने बताए ।

ओलीले संसद्मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

‘मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन’, ओलीले भने, ‘तर केही पनि काम हुन दिइएन । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्ने मात्र २८० वटा बैठक भएछन् ।’ उनले दुई–तीन जनाको गुटगत भेटघाटलाई आफूले बैठकमा रुपमा गिन्ती नगरेको बताए । देशलाई अस्थिरतामा लान आफ्नै पार्टीबाट अनेक प्रश्न उठाइएको भन्दै त्यस्तो किन गर्नुपर्‍यो भन्दै प्रश्न गरे ।

‘सरकारले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएको थियो । इँटामा लेउ लागेर बसेका रानीपोखरी निर्माण सम्पन्न भयो, सात लाख घर निर्माण गरेर हस्तान्तरण भए, धेरै काम भएको कुरा साथीहरुले अनुभव गर्नुभएको छ,’ ओलीले भने, ‘धरहरा, काठमाडौं उपत्यकाको ब्युटीफिकेसन भएको छ, तराईमा ढलको व्यवस्था भएको छ, धेरै काम भएका छन् । गत आर्थिक विर्षमा मात्र करिव ६ हजार हेक्टर क्षेत्रमा सिँचाइ भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७