प्रचण्डले भने, ‘एमालेले पहिला प्याकेजमै सहमति गर्नुपर्छ’


४ फाल्गुन २०७४, शुक्रबार
prachanda dahal

काठमाण्डौं, ४ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र सरकार गठनका लागि नेकपा एमालेले ‘प्याकेज’ मै सहमति गर्नुपर्ने बताएका छन् ।prachanda dahal

उनले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषय नटुंगिएकाले आफ्नो पार्टीले कसैलाई मन्त्रिमण्डलमा नपठाएको स्पष्ट पारेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुंग्याउन बाँकी रहेको बताए ।

उनले नयाँ सरकारले गर्ने कामको प्राथमिकता, नियुक्ति सम्बन्धमा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको पनि बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले नयाँ सरकारले हिजोको कमजोर सरकारले गर्न नसकेको काम गरेर देखाउन सक्नुपर्नेमा जोड दिएका छन् । त्यसमा शिक्षक, बुद्धिजीविसहित सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको सरकारले शिक्षकका समस्यालाई मध्यनजर गरेर गुणात्मक काम गर्ने आश्वासन पनि दिए ।

एमाले–माओवादीबीच निरन्तर छलफल चलिरहेकोले एक–दुई दिनभित्र सहमति हुने उनले विश्वास व्यक्त गरेका छन् । ’पहिलो मन्त्रिपरिषद् गठनमा हाम्रा कुनै मन्त्री नगएपछि प्रश्न उठ्यो, बुधबार साँझ सबै विषयमा पूर्ण छलफल हुन नसकेकोले सहभागी नभएका हौं,’ उनले भने, ‘यसमा केही दिनमै प्याकेजमै सहमति भएपछि सरकारमा जान्छौं ।’

पार्टी एकता भाँडिने हो कि भन्ने आशंका बढिरहेको बेला दाहालले एमाले–माओवादीबीच ठूलो विवाद नरहेको दाबी पनि गरे । माओवादी केन्द्रको समर्थनमा बिहीबार एमाले अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले कुनै मन्त्रीको नाम नदिएपछि नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार आफ्नो पार्टीबाट दुई जनालाई मात्र मन्त्री बनाएका थिए । एमालेबाट लालबावु पण्डित जनसंख्या तथा वातावरण र थममाया थापामगर महिला तथा बालबालिका मन्त्री बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७