मलेसियाबाट एकैपल्ट १९ नेपालीको शव आउँदा ‘विरक्त’ लाग्दो बन्यो त्रिभुवन विमानस्थल


१० माघ २०७७, शनिबार
sab

काठमाडौं, १० माघ । रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ ।

मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव आज (शनिबार) काठमाडौं आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो । धन कमाउने आशमा विदेश पुगेका ठूलो संख्याका नेपालीहरु बाकसमा आउनु परेको दृष्यले त्रिभुवन विमानस्थल विरक्तलाग्दो देखिएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार ती शवलाई नेपाल एयरलाइन्सले बिहान ८ः३० बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको हो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।

बाँकेका तीर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो ।

उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो । जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ । कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जनाएको छ ।

शव बुझ्न आएका आफन्तहरुको रोदन र आँखाको आँशुले विमानस्थलमा रहेका अन्यको मन समेत अमिलो बनाएको छ । जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ । कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७