बेलायतमा २९ हजार बढी संक्रमित, ७८ लाखले लगाए खोप


१७ माघ २०७७, शनिबार
korona

बेलायत, १७ माघ । बेलायतमा पछिल्लो २४ घन्टामा २९ हजार ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्याँक अनुसार नयाँ संक्रमित संगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७२ हजार ८१३ पुगेको छ ।

बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा केहि कमि आएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका अस्पतालमा झण्डै ३५ हजार संक्रमितको उपचार भइरहेको छ भने झण्डै चार हजार कोरोना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२४५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख चार हजार ३७१ पुगेको छ । स्वास्थ्य विभागको तथ्याँक अनुसार एकसाताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ ।

७८ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा शुक्रबारसम्म ७८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा हालसम्म ७८ लाख ९१ हजार १८४ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।

जसमध्ये चार लाख ७८ हजार २५४ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हाल फाइजर(बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुई वटा खोपहरु वितरण भइरहेको छ ।

यसका साथै बेलायतले मोडर्नाको खोपलाई पनि प्रयोगको लागि अनुमति दिइसकेको भएपनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । मोडर्नाको खोप पनि बेलायतले १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।

भर्खरै मात्र बेलायतमा अन्य दुईवटा खोपको पनि सफल परीक्षण भएको समाचार माध्यमले जनाएको छ । अमेरीकन कम्पनिद्वारा विकसित कोभिड १९ विरुद्धको नयां खोप नोभाभ्याक्स पनि बेलायतमा गरिएको तेस्रो चरणको परीक्षणमा ८९.३ प्रतिशत प्रभावकारी देखिएको छ । यस खोपले कोरोनाको नयां भेरिएन्टको लागि पनि प्रभावकारी हुने बीबीसीले उल्लेख गरेको छ ।

बेलायत सरकारले नोभाभ्याक्सको ६० मिलियन डोज सुरक्षित गरिसकेको छ । यसैगरी जोन्सन एण्ड जोन्सनको खोप पनि ६६ प्रतिशत प्रभावकारी भएको बताइएको छ । एक डोजमात्र लगाए हुने उक्त खोप नयां भेरिएन्टको लागि पनि प्रभावकारी हुने परीक्षणले देखाएको छ । जानस्सेन कम्पनिद्वारा विकसित गरिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप पनि बेलायतले ३० मिलियन डोज सुरक्षित गरेको छ ।

संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसंगै खोप अभियानलाई प्रथामिकताका साथ अघि बढाइएको छ । खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले खोप वितरण केन्द्रको वृद्धि गरिएको छ । कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दूरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७