पद बहाली गरेकै दिनदेखि एक अर्ब दिन्छौं भन्ने प्रलोभन आयो : वनमन्त्री आले


१८ फाल्गुन २०७७, मंगलवार
prem bahadur ale

काठमाडौं, १८ फागुन । वन तथा वातावरणमन्त्री प्रेम आले मगरले आफूलाई प्रयोग गरेर फाइदा लिन खोज्नेहरुबाट आफूलाई एक अर्ब रुपैंयाँको प्रलोभन देखाएको बताएका छन् ।

मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् ।

आज (मंगलबार) सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् । ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।

आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको मन्त्री आलेले बताए । ‘जुन दिन पद वहाली गरें, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । हामी एक अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा मोसो दल्न हुँदैन भनेर इन्कार गरें’ उनले भने ।

वैज्ञानिक वन कार्यक्रमका नाममा वन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको उनको दाबी छ ।

आफू प्रतिनिधिसभाको लेखा समितिमा रहँदा उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमबारे अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारीलगायतले प्रलोभन देखाएको उनले बताए । मन्त्री आलेले वन नियमावली बनाउँदा सरोकारवालाहरुसँग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७