सिंगो नेपाललाई नेपालगन्जको सन्देश

बेड भरिएपछि भेरी अस्पतालमा बिरामी बाहिरै, शिक्षण अस्पताल कोहलपुरमा पनि थप बिरामी भर्ना बन्द


१० बैशाख २०७८, शुक्रबार
Bheri Hospital Isolation Photo.jpg .2021 04 23

नेपालगञ्ज, १० बैसाख । रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका– ५ तारातालका तुलबहादुर गुरुङदम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उनीहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुगे । तर, राति ११ बजेसम्म बेड पाएनन् ।

अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्षबाहिर राखिएको बेडमा पत्नीसहित बसेका गुरुङले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइ दिनुपर्‍यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उनीहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै थिए ।

बर्दियाकै बारबर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले तीन घन्टाको पर्खाइपछि बल्ल आइसोलेसनमा बेड पाइन् । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । बेड नपाएरै बितिन्छ कि भन्ने भइसकेको थियो, बल्लबल्ल पाइयो,’ सुवेदीका आफन्त सौरभ गिरीले भने ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बिरामीले बेड भरिएको बताए । उनका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँ समेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

भेरी अञ्चल अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् । अब थप बिरामी भर्ना गर्न नसकिने जनाउ अस्पतालले दिएको छ । भेरि अस्पतालमा एक सय ४२ आइसोलेसन बेड छन् । त्यस्तै, ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने डा. थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने सम्भावना छ । सबैले वेलैमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ,’ उनले भने, ‘भेरी अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन ।’

उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेडदेखि भेन्टिलेटरसम्म सबै भरिएका छन् । अस्पतालमा कोरोना संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले बताए ।

संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् । यही वेला आज (बिहीबार) मात्र १५ जना संक्रमित थपिएका छन् । उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भने, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’

बाँकेमा संक्रमितको संख्या तीव्र गतिमा थपिँदै गएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार बिहीबार मात्रै तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि एक हजार दुई सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएकाबाहेक केहीलाई राँझा विमानस्थलनजिकैको ह्वाइटहाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।
संक्रमितले भरिँदै सेती प्रादेशिक अस्पताल
सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । ५० शैंयाको अस्पतालमा अहिले ३८ जना उपचाररत छन् । तीमध्ये तीन जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ ।

अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन् । डेढ सातायता अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भइसकेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए ।

‘अहिलेकै हिसाबले संक्रमण बढ्दै गए केही दिनमै अस्पताल भरिन्छ,’ श्रेष्ठले भने, ‘५० जनाभन्दा बढीलाई धान्न सक्ने क्षमता अस्पतालमा छैन ।’ उपचाररत केही डिस्चार्ज पनि भइरहेकाले संक्रमितलाई फिर्ता पठाउनुपर्ने अवस्था भने अहिले आइनसकेको उनले बताए ।

गत फागुन अन्तिम सातासम्म अस्पतालमा बिरामीको संख्या शून्य थियो । चैत दोस्रो सातायता भर्ना हुन आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । त्यसयता सयजना संक्रमित भर्ना भइसकेका छन् । प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा संक्रमित दर पनि बढेको छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

अहिलेकै गतिमा संक्रमण फैलिए यहाँको स्वास्थ्य संरचनाले धान्न नसक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । अहिले लक्षणसहितका संक्रमित बढेको उनको भनाइ छ । ‘अस्पताल र आइसोलेसनमा संक्रमितलाई राख्न सीमित बेड छन् । संक्रमण अहिलेकै हिसाबले बढेमा ती संरचनाले धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले संक्रमणबाट बच्न व्यक्ति आफैँले पनि सुरक्षाका उपाय अपनाउनु पर्छ ।’

अहिले जिल्लाभर तीन सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ । बाँकी होम आइसोलेसनमा छन् । कैलालीमा सेतीको कोरोना अस्पतालमा ५०, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच आइसोलेसन बेड छन् । विद्यालय र सार्वजनिक भवनमा समेत गरी जिल्लाभरि साढे तीन सय आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।
बुटवल कोरोना अस्पतालका आइसियू र भेन्टिलेटर ‘प्याक’
बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् । चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका छन् ।

अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार पछिल्ला दिनमा जटिल अवस्थाका बिरामीको संख्या बढिरहेको छ । बुधबार पिसिआर टेस्ट गरिएकामध्ये ५० प्रतिशतको रिपोर्ट पजिटिभ आएको छ । जिल्लाभर बिहीबार मात्रै एक सय २५ जनामा संक्रमण देखिएको छ । विशेष अस्पतालमा ३६ वटा आइसोलेसन बेड छन् । १४ चिकित्सक र ७० नर्स उपचारमा खटिएका छन् ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकतामा राखेर उपचार भइरहेको बताए । ‘तर, बेड प्याक भएकाले अब गम्भीर खालका बिरामी समेत भर्ना गर्न सक्ने अवस्था छैन । सबैलाई भर्ना गरेर उपचार गर्ने अवस्था नै छैन । अहिलेकै दरमा संक्रमित बढे एक सातापछि थप जटिलता आउने स्थिति छ,’ उनले भने । प्रादेशिक अस्पतालमा छुट्टै सञ्चालन गरिएको फिबर क्लिनिकमा सात आइसोलेसन बेड छन् ।

प्रदेशका अन्य अस्पतालको पनि यस्तै अवस्था छ । भैरहवास्थित भीम अस्पतालमा नयाँ संक्रमितलाई भर्ना गर्न बेड नभएको मेडिकल सुपरिटेन्डेट डा. शकुन्तला गुप्ताले बताइन् । सबै बेड भरिएकाले बिरामीलाई फर्काउनु परेको उनको भनाइ छ ।
नाकामा सतर्कता फितलो, हटस्पट बन्दै पर्सा
भारतसँगको खुला सीमाका कारण सहज आवतजावत र स्वास्थ्य मापदण्ड लागू गर्न सर्वसाधारण गम्भीर नहुँदा पर्सा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । स्वास्थ्य संस्थामा साधनस्रोतको अभाव छ, जसले संक्रमित बढ्दै जाने र मानवीय क्षति बढ्ने खतरा छ । युवा र बालबालिका समेत संक्रमित भएपछि चिकित्सक पनि चिन्तित छन् ।

भारतमा भयावह रूप लिएको कोरोनाको असर सीमावर्ती जिल्लामा बढी छ । पर्सामा पनि संक्रमित हुने र ज्यान गुमाउने संख्या बढेको छ । नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार पछिल्लो समयमा अस्पतालमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालसम्म नारायणी अस्पतालमा परीक्षण गराएकामध्ये पर्साका तीन सय २५ जना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेसँगै नारायणी अस्पतालमा गम्भीर बिरामी पनि बढेको डा. दासले बताए ।

उनका अनुसार बुधबारसम्म नारायणी अस्पतालको आइसियू र एचडियू कक्षमा गरी ३७ संक्रमित भर्ना छन् । अस्पतालको आइसियू र एचडियू वार्डको बेडक्षमता ४२ मात्र छ । बिरामी थपिँदै गए उपचारमा समस्या हुने अस्पताल प्रशासनको चिन्ता छ । अहिले जिल्लामा करिब तीन सय कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो एक हप्तामा पर्सामा मंगलबारसम्म सात जनाको मृत्यु भएको छ । जसमध्ये पर्साका पाँच र बारा र सर्लाही एक–एक जना छन् ।

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै चिकित्सकले स्थिति नियन्त्रण बाहिर जान सक्ने आशंका गरेका छन् । पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि रहेको र संक्रमण नियन्त्रणबाहिर जान सक्ने नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । उनका अनुसार गत वर्ष कोरोनाको संक्रमणबाट बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर, नयाँ भेरियन्टले उनीहरूलाई पनि बढी प्रभाव पारेको उनको भनाइ छ । डा. सिंहका अनुसार अहिलेको संक्रमणले धेरैलाई चिन्तित बनाएको छ ।

संक्रमित थपिँदै गए पनि स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिएको छ । जिल्लाका बजार क्षेत्रमा भिडभाड छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पर्याप्त गम्भीरता देखिएको छैन । नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किनेको व्यवस्थित स्वास्थ्य परीक्षण गरिएको छैन, यसले संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । भारतबाट फर्किनेका लागि क्वारेन्टिनको व्यवस्था छैन, उनीहरू सीधै घर गएका छन् । वीरगन्ज नाकामा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले तापक्रम जाँचिरहेका छन् ।

सय डिग्रीभन्दा माथि तापक्रम भएकालाई शंका लागेमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । हेल्थ डेस्कमा अहिलेसम्म परीक्षण गरिएका साढे पाँच सयमध्ये २० जनामा एन्टिजेन पजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिकाका तर्फबाट हेल्थ डेस्कमा खटिएका ल्याब असिस्टेन्ट विपिन चौरसियाका अनुसार बुधबार परीक्षण गरिएकामध्ये चारजनाको पजिटिभ रिपोर्ट आएको छ । उनीहरूमध्ये दुईजना भारतीय हुन् । पजिटिभ देखिएका भारतीयलाई उतै फर्काइएको छ । कोरोनाको लक्षण देखिएका दैनिक ४० जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले जरिवाना गर्न थालेको हो ।

अस्पतालमा बेड अभावमा होम आइसोलेसनमा रहेका संक्रमित सबै चिकित्सकको परामर्शमा छन् । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सराबगीले आमनागरिक तथा सर्वसाधारणले व्यक्तिगत र सामुदायिक सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी भेला नहुन र पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्ने प्रशासनले सूचना जारी गरेको छ । नयाँ पत्रिका दैैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७